जर्मन मिडियामा नर्भिक अस्पतालको चर्चा
जर्मन पर्वतारोही मार्टिना कुसले थापाथलीस्थित नर्भिक अस्पतालको प्रशंसा गरेकी छन् । नर्भिकको विश्वस्तरीय उपचार सेवाका कारण आफू मृत्युको मुखबाट फर्किन सफल भएको उल्लेख गर्दै उनले अस्पातालको खुलेर प्रशंसा गरेकी हुन् ।
मार्टिनाका अनुसार उनलाई पल्मोनरी एम्बोलिज्मको समस्या देखियो । उनले यसअघि पनि नेपालका अन्य हिमालको आरोहण गरिसकेकी थिइन् । यस पटक सजिलै सगरमाथा चढ्ने उच्च आत्मविश्वास लिएर नेपाल आएकी उनलाई स्वास्थ्यले साथ दिएन । त्यसपछि हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौंको एउटा निजी अस्पतालमा ल्याइयो । तर, त्यहाँ उनको स्वास्थ्य अवस्था झन् बिग्रिन थाल्यो । त्यसपछि चिकित्सक र टूर गाइडको सल्लाहमा नर्भिक अस्पताल पुर्याइएको उनको भनाइ छ ।
‘पहिले काठमाडौँको त्यो सानो अस्पतालमा उपचार गरियो । तर, म लगातार कमजोर हुँदै गएँ । मेरो स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गयो । मलाई थप अक्सिजन चाहिने अवस्था आइसकेको थियो,’ त्यतिबेलाको अवस्था सम्झँदै मार्टिनाले भनिन्, ‘सीटी स्क्यानमा पल्मोनरी एम्बोलिज्मको समस्या रहेको पत्ता लाग्यो । डाक्टरहरूले मेरो फोक्सोमा पानी र रगत भेट्टाए ।’
उनले नर्भिकको उपचार पद्दति, चिकित्सक तथा नर्सहरुको आत्मीय व्यवहार विश्वसनीय रहेको बताएकी छन् । नर्भिकका डाक्टरहरुद्वारा गरिएको उपचार विश्वसनीय र कर्मचारीको सहानुभूतिसहितको उच्चस्तरीय हेरचाह महान रहेको मार्टिनाको अनुभव छ । ‘बिरामी भएर बेडमा लडिरहँदा निराश थिएँ । तर, नर्भिकका डाक्टर र नर्सको मिठो बोलीवचन तथा व्यवहारले मेरो दिमागमा सकारात्मक सोचको विकास हुन थाल्यो,’ उनले थपिन्, ‘मलाई आफ्नै घरमा बसेर उपचार गरिरहेको जस्तो महशुस हुन थाल्यो ।’
मार्टिना उपचारका लागि नर्भिक अस्पतालमा ४५ दिनसम्म बसिन् । पूर्णरुपमा ठीक भएपछि मात्र उनी जर्मनी फर्किएकी हुन् । हाल आफ्नै घरमा थप स्वास्थ्यलाभ गरिरहेकी मार्टिनाले आफू पुनः नेपाल भ्रमणमा जाने बताएकी छन् । उनले भनिन्, ‘मलाई अग्लो हिमाल चढ्नु पर्दैन । नेपालका हिमालहरुको बीचमा सजिलो पदयात्रा, सांस्कृतिक अनुभव र विश्रामका लागि रमाइला क्षेत्रहरू पनि छन् ।’
टिप्पणीहरू