दुर्गा प्रसाईंको महाभियानबारे छलफल गर्न बनकालीमा बैठक
राजतन्त्र पुनर्स्थापना र हिन्दुराष्ट्र घोषणाको अभियानमा रहेको शिवसेना नेपालले त्यस्तै अभियानमा रहेका मेडिकल माफिया भनेर चिनिने दुर्गा प्रसाईंलाई सहयोग नगर्ने भएको छ ।
आज पशुपतिस्थित बनकालीअगाडि पार्किङमा बसेको शिवसेनाको पदाधिकारी बैठकले प्रसाईंको नियत ठिक नदेखिएकाले तत्काल उनले गर्ने आन्दोलनका कार्यक्रममा सहभागी नहुने र समर्थनसमेत नगर्ने निर्णय गरेको हो । प्रसाईंको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहको सहभागिता रहँदा सुरक्षा दिने कामको जिम्मा भने आफूहरुले नै लिने उसको निर्णय छ ।
उक्त बैठकमा शिवसेना नेपालका सचिव नाराण अर्याल, केन्द्रीय पदाधिकारीहरू चिरनवीर प्रताप खड्का,आविस्कार सिग्देललगायत दुई दर्जन जति सहभागी थिए ।
केही महिना अघिसम्म कट्टर गणतन्त्रको पक्षधर रहेका प्रसाईं हालैमात्र राजतन्त्र फर्काउने अभियान लागेका हुन् । 'राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति तथा नागरिक बचाउ अभियन'को आफैँ संयोजक बनेका उनले अघिल्लो हप्ता पूर्वराजा ज्ञानेन्द्र र उनका परिवारका सदस्यलाई मेची पुलमा भेला गरेर महाभियानको औपचारिक सुरुआत गरेका थिए ।
प्रसाईंले शनिबारदेखि आन्दोलन थाल्ने घोषणासमेत गरेका छन् । अस्ति सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर उनले गणतन्त्र, संघीयता खारेजीसहित ११ बुँदे माग अघि सारेका छन् । आन्दोलनमा पूर्वराजा शाहसमेत सहभागी हुने उनले जानकारी दिएका थिए ।
तर, पूर्वपञ्चहरुको पार्टी राप्रपासहित विभिन्न राजावादी समूहहरुले भने प्रसाईंप्रति आशंका व्यक्त गरिरहेका छन् । बैंकबाट अरबौँ ऋण लिएर त्यसको साँवा, ब्याज नतिरेका उनले त्यसबाट उन्मुक्ति पाउन पूर्वराजालाई प्रयोग गरेको उनीहरुको आशंका छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले त केही दिनअघि सार्वजनिक मंचबाटै प्रसाईंलाई 'ठग' को संज्ञा दिँदै उनको पछाडि नलाग्न आफ्ना कार्यकर्ता र राजावादीहरुलाई आग्रह गरेका थिए ।
टिप्पणीहरू