गजेन्द्रनारायण अस्पतालको ढोकामा टोकन

गजेन्द्रनारायण अस्पतालको ढोकामा टोकन

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा टोकन प्रणाली शुरु भएको छ । अस्पतालमा उपचारार्थ आउने बिरामीलाई सहज वातावरणमा सेवा दिने उद्देश्यले टोकन प्रणाली थालिएको बताइएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले आज अस्पताल परिसरमा टोकन प्रणालीको थालनी गरेका छन् । घण्टौं लाइनमा बस्नुपर्ने बाध्यताबाट मुक्त गराउन टोकन प्रणाली थालिएको अस्पतालका सुपरिटेन्डेण्ट डा. प्रकाश साहले बताए । 

‘ओपिडीसहित सबै ठाउँमा चिकित्सकलाई देखाउन पूर्जी काट्नेको भीड हुने गरेको थियो’, उनले भने, ‘टोकन प्रणाली लागु भएपछि अस्पताल आउने सेवाग्राहीलाई अब घण्टौंसम्म लाइनमा बस्नुपर्ने सास्ती हुनेछैन ।’

नयाँ प्रणालीलाई प्रभावकारी बनाउन कार्यालयका कर्मचारीसमेत सहजीकरणमा खटिने उनको भनाइ छ । दैनिक पाँचदेखि आठ सय सेवाग्राही ओपिडी सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ ।

टिप्पणीहरू