प्रदेशसभा बैठकबाट पत्रकारलाई जबर्जस्ती निकालियो

प्रदेशसभा बैठकबाट पत्रकारलाई जबर्जस्ती निकालियो

प्रदेश नामाकरणको क्रममा पत्रकारलाई जबर्जस्ती प्रदेशसभा बाहिर निकालिएको घटनालाई लिएर संसदीय पत्रकार मञ्चले आपत्ति जनाएको छ । 

प्रदेश नम्बर १ लाई ‘कोशी’ प्रदेश नामाकरण गर्ने बेलामा प्रदेशसभा सचिवालयले पत्रकारलाई बाहिर पठाएको भन्दै मञ्चले उक्त घटनाप्रति आपत्ति प्रकट गरेको हो । मञ्चले विज्ञप्ति जारी गर्दै फागुन १७ गते प्रदेशको नामाकरणका लागि मत विभाजन प्रक्रिया र घोषणा गर्ने समयमा मर्यादापालक लगाएर पत्रकारमाथि दुव्र्यवहार भएकाले त्यसप्रति असन्तुष्टी जनाएको छ । 

‘फागुन १७ गते बुधबारको दिन प्रदेशको नामाकरणको लागि मत विभाजन प्रक्रिया र घोषणा गर्ने समयमा पत्रकार दीर्घाबाट मर्यादापालक लगाएर बाहिर निकालिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन र अहोरात्र प्रदेशसभालाई मर्यादित बनाउन खटिँदै आएका पत्रकारमाथि भएको दुर्व्यवहार हुनु अत्यन्तै निन्दनीय भएको मञ्चको भनाइ छ । आगामी दिनमा प्रदेशसभाका सबै गतिविधि र प्रक्रियामा निर्वाध र स्वतन्त्र रुपमा पत्रकारहरुलाई समाचार संकलन गर्ने वातावरण मिलाइदिन मञ्चले जोडदार मागसमेत गरेको छ । 

त्यस्तै, प्रदेशसभाको आधिकारिक पोर्टलबाट बैठकका गतिविधिहरु प्रत्यक्ष प्रसारण नगरिएकाले आम नागरिक संसदीय गतिविधिबारे सुसूचित हुने अधिकारबाट वञ्चित भएको मञ्चको ठहर छ ।

टिप्पणीहरू