खोरमा जानुअघि राजाको गीत !

खोरमा जानुअघि राजाको गीत !

अरबौं रकम बैंक र बजारबाट नियतवस ठगी गरेका (वीलफूल डिफल्डर) मान्छे मुलुकमा ‘राजा ल्याउने गीत’ गाउँदै हिँड्न थालेको छ । केही दर्जन मान्छे संवैधानिक, राजनीतिक, सामाजिक, व्यवहारिक, नैतिक र भूराजनीतिक परिस्थिति र दृष्टिबाट खरानी भइसकेको राजतन्त्रलाई ब्युँताउने उरन्ठेउलो, हुर्दूङ्गे, उटफट्याङ्ग गफ बेच्न दौडेका छन् । 

भीड जम्मा गर्दै नेता बन्दै ‘भूत’ सवार भएर तिनै बैंकमारा लुटाहा अघि सरेका छन् । राजनीतिक जीवन र संस्कार नभएका केही उटफट्याङ्ग भीड जम्मा गर्ने शोखमा पूर्वराजा ज्ञानेन्द्रसमेत सहभागी हुँदैछन् । आजको समय, समाज, चेतना, भूराजनीतिक अवस्था तथा नेपालको राजनीतिक घटनाक्रमले फेरि राजा ल्याउने कुरा आफैंमा बौलठ्ठीपूर्ण तर्क मात्र हो । 

कसले राजा ल्याउने ? किन राजा ल्याउने ? कसले कसरी कुन संवैधानिक र कानुनी प्रबन्ध अनुसार गद्दीमा बसाउने ? कुन राजनीतिक शक्तिले समर्थन गर्ने ? जस्ता यावत प्रश्न ज्युँदै छन् । राजाको गीत गाएर उफ्रेपछि बैंक र बजारमा खाएको तिर्नु नपर्ने हो ? चर्का कुरा गर्दै भीडले कराएपछि २० लाखभन्दा कमको ऋण तिर्नु नपर्ने हो ? भीडले बैंकलाई ‘ब्याजदर घटा’ भन्यो भने घट्ने हो ? 

समग्रमा बैंकले लुटेका छन्, त्यो सत्य हो । तर बैंक ब्याजदर राज्यको बंैकिङ्ग नीति, बजारमा नगद प्रवाहको माग र आपूर्ति, राज्यको आर्थिक नीति एवम् राष्ट्रिय–अन्तर्राष्ट्रिय कारणले घटबढ हुने गर्छ । कसैले भनेर वा केही दर्जन मान्छे कराएर घट्दैन ।आफैंलाई जलाएर मार्ने  प्रेमप्रसाद आचार्यले आफ्नो ‘डेथ नोट’ मा के कुरा लेखे भन्ने आधारमा बैंकले ब्याजदर घटबढ गर्दैन । 

अर्थतन्त्र र बैंकिङ्ग नीतिको यस्तो नियमलाई राजाको गीत गाएर बदल्न सकिन्छ ? अर्काे कुरा भनेको राजाको गीतको उद्देश्य भनेकै बैंकबाट र बजारका अन्यबाट लिइएको ऋण तथा कर्जाबाट भाग्ने एवम् जनताको ध्यान अन्यत्र मोड्ने दुस्प्रयास बाहेक केही होइन, देखिन्न ।

करिब एक दर्जन उग्र खालका बुद्धिजीवि, वकिल, पूर्व सेना–प्रहरीका कर्मचारी र केही ठगहरूको सोच राजाको गीत गाएरै आफ्नो धन्दा चलााउने, भ्रष्टाचारबाट आर्जेको धन सुरक्षित पार्ने, अन्य तरिकाबाट ठग्ने र युट्युबमा अन्टसन्ट गाली गरेर चर्चामा आउने बाहेक अरु कुनै देखिन्न । जनविरोधी, प्रतिगामी, पूर्वपञ्च, आसेपासे, तत्कालीन राजाका नोकर–चाकर तथा दास मानसिकताका तत्वहरू नेपालमा भर्खर स्थापित हुदै गरेको लोकतान्त्रिक गणतान्त्रिक प्रणालीमाथि विष बमन गर्दैछन् । युट्युबका कुनामा भुक्नेहरूले एउटा बैंकमारा ठग भेटेका छन् । उनीहरू त्यसले गीत गाएको भरमा राजा आउने सपना बुन्दै अघि बढेका छन् ।

प्रजातन्त्रको विकल्प समृद्ध प्रजातन्त्र हो । लोकतन्त्रको विकल्प समुन्नत, सभ्य, नागरिकमैत्री र जनताको लोकतन्त्र हो । जसरी खानेपानीको विकल्प अझ सफा, स्वादिष्ट, उमालेको वा छानेको, फिल्टर गरेको वा प्युरिफाइड पानीमात्र हो । पानीको मात्रा भएका मुला, गाजर, प्याज, काँक्रा आदि पानीको उत्तम विकल्प हुन सक्दैनन् । अब हाइटेकको कुरा गर्ने हो भने मोबाइलको विकल्प अझ सुविधा भएको, टिकाउ र बलियो मोबाइल हो । अर्थात् पेजर विकल्प हुनै सक्दैन । मोबाइलमा जतिसुकै विकृतिका फोटा आउन् वा खर्चालु होस हामीले पेजर उहिल्यै फालिसक्यौं । 

सिधै भन्नुपर्दा प्रविधिको हिसाबले राजतन्त्र र राजा भनेका पेजर हुन् । लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्र भनेको अनेकौं सुविधा, अवसर र सम्भावना भएका आधुनिक मोबाइल हुन् । यसर्थ मोबाइलको विकल्पमा पेजरको वकालत गर्ने दासमात्र हुन् । त्यसैले आज पनि कोही राजाको गीत गाएर हिँड्छ भने त्यो कि मूर्ख हो, कि दास मानिसकता भएको मान्छे हो । अर्कोतर्फ बैैंक र बजारका अरबौं तथा करोडौं ठगी हिँडेका ठग मात्र हुन् । सच्चा, देशभक्त, प्रगतिशील, सचेत, देशप्रेमी र परिवर्तनशील मानिसले राजाको गीत गाउनै सक्दैन ।


दुई सय ४० वर्ष नेपालमा सक्रिय राजतन्त्र थियो । त्यसभन्दा अघि पनि दुई हजार वर्षभन्दा बढी समय राजाहरूकै शासन थियो । किरातकाल, लिच्छवीकाल, मल्लकाल, शाहकाल, राणाकाल, प्रजातन्त्रकाल, पञ्चायतकालदेखि पुनः प्रजातन्त्रकालसम्म सबैमा राजानै राजा शासनको केन्द्रमा थिए । राजाको हुकम चल्थ्यो । राजतन्त्रकालमा विकास कहाँ के भयो ? सामाजिक–राजनीतिकदेखि कुन क्षेत्रमा केकति परिवर्तन भयो ? राजनीतिक द्वन्द्व र संघर्ष घट्यो कि बढ्यो ? अन्तर्राष्ट्रिय सहयोग बढ्यो कि घट्यो ? वैदेशिक रोजगारी र व्यापर बढ्यो कि घट्यो ? यस्ता अनेकौं सवालको जवाफ कसले दिने ? राजतन्त्र आवश्यक थियो भने नेपालमा निरन्तर राजतन्त्र, निरंकुशता र तानाशाही शासनका विरुद्ध किन त्यतिका राजनीतिक–सामाजिक आन्दोलन, द्वन्द्व र संघर्ष भए ? १० वर्षे सशस्त्र संघर्ष किन भयो ? तसर्थ राजाको गीत गाउने विषय पटमुर्खले गर्ने वाहियात कुरा मात्र हो ।

कसैलाई अहिले पनि राजा भन्दा वा राजा मनपर्छ भन्दा वा राजाको गीत गाउँदा स्वाद लाग्छ भने कुनै बात छैन । भन्न दिए हुन्छ । गाउन दिए हुन्छ । २००७ सालमा एक सय चार वर्षको राणा शासनको अन्त्य भयो । त्यसपछि राणा शासन कहिल्यै फर्केन, फर्कँदैन । यद्यपि केही दर्जन राणाजी साहेबजीहरूका घर–परिवारमा र तिनका नोकर–चाकरहरूले ती राणाजीहरूलाई अहिले पनि ‘राजा साहेब’ भन्छन् । राणाकी श्रीमतीहरूलाई ‘रानी साहेब’ भन्दछन् । अब के तिनले राजा सम्बोधन गर्दैमा राणाजीहरू फेरि राजा बन्न सक्दछन् ? कदापि सक्दैनन् । यसर्थ नोकर, चाकर, नोकर मानसिकता भएका, भ्रष्ट, बैंकमारा र विभिन्न अपराध गर्दै आएकाहरूले राजा–राजा भन्दैमा नेपालमा राजतन्त्र फर्कन्छ ? त्यो असम्भव छ । जसरी खरानी भएको लास फेरि उठ्न सक्दैन, त्यसरीनै नेपालमा राजतन्त्र आउनै सक्दैन । आजको युगको चेतनानै त्यो होइन, हुन सक्दैन । 

एउटा सत्य चाहिँ के हो भने लोकतन्त्र र गणतन्त्रका नाममा नेता, दल वा शक्तिमा भएकाले आफूखुशी गर्न पाउने छुट कसैलाई छैन । संविधानवाद, कानुनी शासन र लोकतान्त्रिक प्रणालीका स्थापित मूल्य तथा मान्यता अनुसार शासन प्रणाली सञ्चालित हुनु पर्दछ । कुनै अमुक दल वा नेता वा व्यक्तिले गर्ने गल्ती, भ्रष्टाचार कुशासन र विकृति रोक्नुपर्दछ । कानुनभन्दा माथि कोही पनि छैन । विधिको शासनको मान्यता नै यही हो । दल वा शक्तिको नाममा कसैलाई कुनै अलग्गै छुट छैन, हुँदैन । त्यो चाहिँ हो । त्यसरी छुट कानुनतः छँदा पनि छैन । 

विगतमा तत्कालीन गृहमन्त्री खुमबहादुर खड्का भ्रष्टाचारमा जेल परेकै हुन् । चिरञ्जीवि वाग्ले, जेपी गुप्तादेखि प्रहरीका तीन जना पूर्वमहानिरीक्षक सुडान काण्डमा जेल परेकै हुन् । लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रका नाममा कसैलाई पनि कानुनभन्दा माथि गएर कार्य गर्ने अधिकार तथा छुट हुँदैन । कानुनको शासनमा सबैभन्दा माथि काुनन नै हुन्छ । विधि र प्रणाली हुन्छ, हुनुपर्दछ । राष्ट्रपति पनि कानुनभन्दा माथि हुँदैन, छैन । काुननको व्याख्याता सर्वाेच्च अदालत र न्यायाधीशहरू सबै संविधान र कानुन अनुसार हुन्छन्, छन् । यसर्थ लोकतान्त्रिक प्रणाली यसका आधारभूत मूल्य, मान्यता, संविधानवाद, विधि तथा राजनीतिक मूल्यबाट मात्र अघि बढ्न सक्दछ । 

अबको विकल्प भनेको राजतन्त्र, राजा वा अनिर्वाचित शक्ति वा व्यक्तिको हुकुमी शासन तथा सत्ता हुनै सक्दैन । केही बैंकमारा जो खोरमा जाने अवस्थामा पुगेका छन्, तिनैलै राजाको गीत गाएर राजा आउने होइन । नेपालको संविधान जनताले जनताको भविश्यको लागि बनाएको कानुनी–राजनीतिक दस्ताबेज हो । संविधानले अपरिवर्तनीय भनेर राखेका संविधानका आधारभूत बनोट (बेसिक स्ट्रक्चर) भत्काउन सक्ने कोही पनि छैन । बेसिक स्ट्रक्चरबाहेक आवश्यकता, औचित्य र संविधानको प्रबन्धअनुसार परिवर्तन हुन सक्दछन् । आजको युग, समय, अवस्था र नेपालको संवैधानिक कानुनी प्रणालीमा राजाको गीत गाउनुको कुनै औचित्य र अर्थ छैन । राजाको गीत गाउने र लोकतन्त्रविरुद्ध विषय वमन गर्दैमा अपराध गरेको प्रमाणित भएमा खोर जानबाट कसैले कसैलाई रोक्न सक्दैन ।

टिप्पणीहरू