उखानटुक्काले, बिचल्ली भयो आफ्नै मुक्काले
माओले भन्नुभएको छ, ‘राजनीति रक्तपातबिनाको युद्ध हो र युद्ध रक्तपातसहितको राजनीति ।’ नेपाली राजनीतिमा चैँ पहिलोमा केपी ओली र दुबैमा पुष्पकमल दाहाल प्रचण्डको अनगिन्ती अनुभव छन् । भन्नेहरू भन्छन्, ‘देश अस्थिरतामा गयो, प्रचण्डको फेरिइरहने बाटो, बोली र व्यवहारले मुलुकले दुःख पाउने भयो । यो हुनुमा केपी शर्मा ओलीको पटक्कै भूल नदेख्ने नेपाली समाजभित्रको एउटा अराजक जमातलाई टोलछिमेकमा सबैले प्रश्न गर्ने बेला भयो कि, ‘किन आङको भैँसी देखिरहनुभएको छैन ?’ अनि नबोली नबोली यत्रो परिवर्तनको नेतृत्व गर्न सक्ने शेरबहादुर देउवा र देउवालाई जतिपटक संकट पर्छ, गर्लम्म काँध थापिदिने माधवकुमार नेपालको दोष देख्ने नजरको उपचार नेपाली राजनीतिमा छैन ?
मंसिर दोस्रो साता छेउछाउमा गठबन्धनको बहुमत आउनै लाग्दा एमाले अब पाँच वर्षलाई बलियो प्रतिपक्षीमा बस्छ भन्ने एमालेको बोली एक सातापछि नै फेरियो । पहिलो शक्तिलाई बरोबर लखेटिरह्यो कि, माओवादीलाई अदालतबाटै फुटाएर टाढा पु¥याउन ओली दस्तासहित लाग्नु भयो । तर, यसपछि माधवकुमार नेपाललाई पनि एमालेबाट पर पु¥याउन उहाँले रक्तपातरहित युद्ध शुरु गर्नुभयो, अष्टलक्ष्मी शाक्य, भीम रावलसहित १० भाइलाई आफूतिर तान्न सक्दो मिहिनेत गर्नुभयो । माओवादीकै कारण अघिल्लो सरकारको नेतृत्व गर्दा कागज गर्नुपर्ने अवस्थामा पुग्नुभएका ओलीले बहस गराउनुभयो, ‘प्रधानमन्त्री पार्टीको ह्विप मान्ने पात्र होइन ।’ प्रधानमन्त्री श्री ३ हरू भन्दा बलियो भनेर अदालतमै बहस गर्ने वकिलहरू काठमाडौँमै हुनुहुन्छ जस्तो लाग्छ, देश छाडेर भागेजस्तो लाग्दैन । यति मात्र होइन, कोरोनाकालमा माइतीघरमा आफैँ सरकार प्रमुख हुँदाहुँदै जुलुस निकालियो, ‘ओलीलाई काम गर्न देऊ ।’
राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान र एकथान उपप्रधानमन्त्रीसमेत बालुवाटारमा सिरानी हालेर ओलीले गर्नुभएका राजनीतिक कुकर्महरूबारे एमालेका दोस्रो पुस्ताका नेताहरू कहिल्यै बोल्न सक्नुहुन्न । एउटा सग्लो एमाले बनाउनुपर्नेमा सधैँ गोकुल बाँस्कोटा, विष्णु रिमाल, सूर्य थापाहरू उमारेर ओलीले प्रचण्डलाई अदालत लगाएर लखेटेपछि माधव नेपालसँग पनि रक्तपातरहित युद्ध लडिरहनुभयो । माधवकुमार नेपालको तेजोबध नगरी आफ्नो चारित्रिक तेज परसम्म नपुग्ने भ्रम बोकेर एमाले दोहन र बिसर्जनमा लाग्दा ओलीले माधवकुमार नेपालले जसरी नैतिकता देखाउनु पनि परेन । संविधानसभा निर्वाचनमा एमाले ३३ सिटमा खुम्चिएपछि नेपालले महासचिवबाट राजीनामा दिनुभयो । १५ वर्षपछि एमाले संघ, प्रदेश र स्थानीय तहमा खिइँदै जाँदा ओलीको देवत्वकरण पो भयो । नैतिकताबारे प्रश्न सोध्ने कोही रहेनन् । भीम रावल र घनश्याम भुसालहरूलाई पार्टी निकाला गर्न युवासंघका जिल्ला कमिटीमा निर्णय गराउने राजनीति संस्थागत गरियो ।
यी सबै घटनाक्रमले एमाले मिलेर र मिलाएर जान सक्ने पार्टी बनाउनुहुन्न ओली डक्ट्रिन कस्तो हो भन्ने हेर्न ३२ सिटका प्रचण्डलाई प्रधानमन्त्री दिँदा पठाएका मन्त्रीहरू हेर्दा पनि हुन्छ । नयाँलाई अवसर दिने नाममा एमालेमा योगदान दिने भन्दा ओलीलाई उच्चकोटीको मानव इतिहासकै अलौकिक पात्र ठान्नेहरूलाई अवसर दिएर उहाँले गोकर्ण विष्ट, योगेश भट्टराईहरूलाई मन्त्रीमा पठाउन जरुरी ठान्नु भएन । अझ प्रचण्डले स्थायी कमिटी बैठकमा भन्नुभएको थियो, ‘पहिलो दिन एक जना मन्त्री पठाउने भन्ने सल्लाह भयो, उहाँले विष्णु पौडेलसहित चार जना पठाउनुभयो । हामीले नारायणकाजीलाई पठाउने भन्यौँ, अरू छानेनौँ, हुँदाहुँदा नारायणकाजीभन्दा माथि विष्णुको वरीयता राखिदिनुभयो, ओलीजी सुध्रिएको छनक देखिएन ।’ एमालेको ‘फेर’ समात्नुपर्छ भन्ने वर्षमान, नारायणकाजीहरूलाई सायद यसपछि ओलीबारे भ्रम टुटेको हुनुपर्छ । अझ एमाले र माओवादी मिलाउने श्रेय बोकेका वर्षमान पुनलाई रोक्न ओलीले गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेलाई बनाइदिएपछि त बाँकी समय औषधोपचारमै बिताउन उत्तम मान्नुभयो पक्कै !
यो भन्दा पनि रमाइलो त के भयो भने, आफैँ अदालत सेटिङ गरेर एमाले र माओवादीलाई फुटाउन लाग्नुभयो र कार्यकर्ता जुटाएर गठबन्धनलाई भनियो, ‘परमादेशी सरकार ।’ बोलेको नगर्ने र गरेको नबोल्ने केपी ओलीले एमालेलाई यस्तोसँग हुर्काउनुभयो कि, आफूपछिका नेतासमेत उहाँको रोजाइमा हुने गथ्र्यो, फेसबुक र ट्विटरमा कराउनेहरूलाई रेलको जिएम दिन पनि उहाँलाई पार्टी, सिद्धान्त, एमाले भनेर लागेका कार्यकर्ताको सम्झना आउँथेन । घर पुग्ने र चाकरी गर्नेहरू उहाँका प्रिय हुने गर्थे । ओलीका पछि लागेकाहरूको राजनीति हेरौँ । कहाँ छन् मणि थापा ? मणि थापाजस्तै अरू अवसरवादीहरू यतिखेर आफूभन्दा जुनियर सांसद, मन्त्री भएका देखेर ‘ओलीले डुबाए’ भन्नसमेत सकिरहेका छैनन् । जबकि यिनका जिब्रोहरू देउवा, नेपाल, मोहन वैद्य, अरू नेताविरुद्ध अहिले पनि शेषनागका भन्दा बढी कामयाव छन् । रक्तपातरहितको युद्ध अर्थात् माओले भनेको राजनीतिमा ओलीले पाँच वर्ष प्रतिपक्षीको गफ दिनुभयो । तर, पाँच साता पनि नकुर्दै कांग्रेसलाई ‘प्रधानमन्त्रीकप’मा पछार्न दाउपेच लगाउनुभयो । लिगलिगकोटमा शाहलाई राजा बनाउन राजकुमार बोकेर दौडने मगर र घलेझैँ ओली दौडँदा प्रधानमन्त्रीसँग राष्ट्रपति, मुख्यमन्त्री साट्न सफल ओलीले यस्तो अस्थिरता र अस्थायी दोस्तीबारे सोच्नुपथ्र्यो कि पर्थेन ?
यी पंक्ति लेखिरहँदासम्म प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पद छाड्ने कल्पनासमेत गर्नुभएको छैन । केन्द्रको छाया प्रदेशमा किन पार्नु भनेर पदलोलुपता देखाइरहनुभएको थियो । मधेश प्रदेशमा पनि एमाले मन्त्रीले मधेशका सत्ता फेरबदलको छाया नपारौँ भनेर बजेट बनाउने बेलामा गलहत्तिन रुचाइरहनुभएको थिएन । गण्डकी प्रदेशमा पृथ्वी सुब्बालाई मुख्यमन्त्रीबाट फालेर आफ्नै प्रिय खगराज अधिकारीलाई पद दिन गरिएको षड्यन्त्र सफल भइरहँदा यति चाँडै मुख्यमन्त्री छाड्नुपर्ने दिनको कल्पना पक्कै थिएन । बागमतीमै पनि संसदीय दलको नेता भएर प्रदेश खारेज गर्छु भनेर खानेपानीमन्त्री भएका राप्रपा नेता र आधा कार्यकालका मुख्यमन्त्रीमा हस्ताक्षर गरेर अहिले नै अर्थमन्त्री खाएका एमाले नेताको चरित्र देखेर छेपारा नै दंग परेका थिए । यहाँ पनि सरकार छाड्न के मन लागेको होला र ? यहीँ पनि एमालेले बोलेको एउटा, भयो अर्को । राष्ट्रपतिको चुनावसम्म सरकारको समर्थन राख्ने भनेर सोमबार नै एमालेलाई सरकारबाट फिर्ता बोलायो ।
माधव नेपाल राष्ट्रपति हुनै मान्नुभएन भनेर हल्ला चलाइयो । अहिले भनिँदै छ, ‘शेरबहादुर देउवा प्रधानमन्त्री बनाउने सपना दिएर एमाले सुवास नेम्वाङ राष्ट्रपति बनाउन सफल हुनेछ ।’ प्रोपोगान्डाबाहेक पछिल्लो दशक एमालेको एजेण्डा उखान, टुक्का, आरोप, अपमान, चुट्का, हेलोहोचोबाहेक केही पाउनुभएको छ ? पछिल्लो कलेज पुस्ता राजनीतिप्रति यति वितृष्णित बनेको छ कि, सबै नेतामा उनीहरू ‘ओली क्यारेक्टर’ देख्छन् । त्यसैले रवि लामिछानेको जनताको सुख–दुःखमा समवेदित हुने राजनीतिमा आकर्षित भए । नयाँ अनुहार कोही थिएनन्, बस् अरू पार्टीका विरक्तहरू त्यो पार्टीमा गएका थिए । उनीहरू पनि एमालेको सुरुवाती हमलामा परेर औसतभन्दा माथि सपना देख्दै थिए । ओलीको ‘डबल रोल’ समयमा बुझ्न सकेनन् । त्यसैले गृहमन्त्री र सडकछाप एकसाथ भए । यो दोहोरो चरित्र बोकेर एमाले सत्तामा पुगेको दुई महिनामा उथलपुथलको अवस्थामा पुगेको छ ।
प्रधानमन्त्रीमा ढिपी गरेर भएभरका मुख्यमन्त्री गुम्यो, राष्ट्रपति गुम्यो । उपराष्ट्रपति सभामुख, उपसभामुख सबै गुम्ने अवस्थामा पुग्यो । कांग्रेस सभापति शेरबहादुर देउवामाथि दुई महिना कार्यकर्ताहरू मात्रै होइनन्, पदाधिकारी तहका नेताहरू कुर्लिए । मुठ्ठीभरका नेताको कुरा सुनेर ठूलो पार्टीलाई सडकमा पु¥याउने काम भयो भने । तर, दुई महिना देउवा कतै बोलेको सुनिएन, रिसाएको देखिएन । उहाँले गठबन्धनलाई नवीकरण मात्र गर्नु भएन, जनमत र उन्मुक्ति पार्टीलाई समेत जोड्नुभयो । यहाँ एमालेका नाममा ओलीको एकल तजबिजले दुई महिनाअघि देउवाकै हालतमा एमाले र ओली पुग्ने बेला कोही ओलीले ‘गम्भीर भूल’ गर्नुभयो भनेर फेसबुक, ट्विटरमा लेख्ने, टेलिभिजनमा बोल्ने हैसियतमा देखिनुहुन्न । अलि–अलि बोल्ने भीम रावलको एमालेमा हिस्सा नै छैन । अब त जनताले बुझे होलान् त एमाले र कांग्रेसमा के फरक छ ? अति बोल्ने र केही नबोल्नेबीचको फरक कम्तीमा एमालेका नेताहरूले ‘असुरक्षा’ महसुस गरेर नबोले पनि नागरिक समाज त बोल । कहाँ छ एमालेको नुन खाएर यहाँसम्म आइपुगेको समृद्ध नागरिक समाज ? केपी ओलीलाई ‘तपाईं’ भन्ने एक जना राजनीतिक दार्शनिक रूपचन्द्र विष्टले भन्नुहुन्थ्यो, ‘भन्नेले बोल्दैन, बोल्नेले गर्दै–गर्दैन ।’ यसैलाई भारतीय कवि सम्पत सरलले भन्नुभएको छ, ‘केही गर्न नसके पनि ट्विटरमा लेख्न त सक्छ र जसले ट्विटरमा लेख्छ, त्यसपछि उसले केही गर्न सक्दैन ।’ एमाले हलेदो हो भन्ने थाहा भइभइ कोट्याइरहनु अब तपाईं हामी सबैको मूर्खता मात्र हुनेछ । तर, भन्नुपर्छ, एक दशक मुलुक अस्थिर बनाउने उखानटुक्का संगठनको चैँ नबोलिनबोली शेरबहादुर देउवाले दुई महिनामै ‘दाहसंस्कार’ नै गरिदिनुभयो ।
टिप्पणीहरू