अरुका पूर्वाधार बनाउँदा आफ्नोमा क्षति पुगेको टेलिकमको गुनासो
नेपाल टेलिकमले सडक, खानेपानी, ढल, विद्युतलगायतका पूर्वाधार निर्माण, विस्तार, मर्मत र स्थानान्तरण गर्ने क्रममा आफ्नो पूर्वाधारमा क्षति पुगेको जनाएको छ ।
आफ्ना ग्राहकको सहजताका लागि अण्डरग्राउण्ड केबल, एरियल केबल, फाइबरलगायतका विभिन्न उपकरणको प्रयोग गर्दै आएको जानकारी गराउँदै टेलिकमले नगरपालिका र वडाले गर्ने केबल व्यवस्थापनले समेत आफ्नो संरचनामा क्षति पुगेको बताएको छ । जसका कारण मोबाइल र टेलिफोनमा समस्या आउने गरेको टेलिकमको गुनासो छ ।
जथाभावी निर्माण कार्यले काठमाडौं उपत्यकाको ठमेल, ताहाचल, ज्याठा, कमलादी, कपन, गोंगबु, हात्तीगौंडा, खुशिबु, तीनकुने, लुभु, कीर्तिपुरलगायतका विभिन्न स्थानका ग्राहक समस्यामा परेको टेलिकमले जनाएको छ ।
‘विभिन्न स्थानमा पछिल्ला केही दिनमा कम्पनीको भूमिगत तथा पोलमा रहेका संरचनामा क्षति पुग्न गई हजारौं ग्राहक केही अवधिका लागि सेवा प्रयोग गर्नबाट वञ्चित रहनुपरेको थियो’, टेलिकमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, टेलिकमले यस्तो अवस्थालाई मध्यनजर गरी संरचना निर्माण वा विस्तारको क्रममा सम्बन्धित निकायहरुबीच समन्वय र सहकार्य हुनुपर्ने उल्लेख गरेको छ ।
टिप्पणीहरू