आयुर्वेद उद्योगसँग कम्पनी प्रोफाइल मागियो

आयुर्वेद उद्योगसँग कम्पनी प्रोफाइल मागियो

औषधि व्यवस्था विभागले आयुर्वेद औषधि उत्पादन गरिरहेका उद्योगसँग कम्पनी प्रोफाइल मागेको छ । विभागले ३५ दिनको म्याद दिएर नेपालमा सञ्चालित आयुर्वेद उद्योगहरूलाई कम्पनी प्रोफाइल पठाउन निर्देशन दिएको हो । 

विभागले उद्योगहरूको डाटाबेस निर्माणका लागि उत्पादन गरिरहेको औषधिको सूची, स्वीकृत नक्सालगायतका कागजात बुझाउन भनेको छ । आज प्रकाशित सूचनामा स्वदेशी उद्योगहरुलाई उद्योग स्थापना सिफारिसपत्र अनुसूची–२, स्वीकृत नक्सा, अद्यावधिक कम्पनी रजिस्टारको प्रमाणपत्र÷प्रबन्धपत्र, हालसम्म विभागबाट उत्पादन अनुज्ञापत्र प्रदान भएको औषधीको सूची (अनुसूची ३) र साइट मास्टर फाइल पनि मागिएको छ । 

त्यस्तै, विदेशी उद्योगहरुलाई आयातकर्ता लाइसेन्सको प्रतिलिपि, साइट मास्टर फाइल र हालसम्म विभागबाट दर्ता प्रमाणपत्र÷पैठारी सिफारिसपत्र (अनुसूची ४ ङ र ७) प्रदान भएको औषधीहरुको सूची बुझाउन आग्रह गरिएको छ । 

साथै, विभागमा दर्ता भई सञ्चालनमा नआएका उद्योगहरुले सञ्चालन गर्न नसक्नुको यथेष्ट कारण पेश गर्नसमेत भनिएको छ । अन्यथा त्यस्ता उद्योगहरुलाई कानूनबमोजिम कारबाही गर्न प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।

टिप्पणीहरू