मार्सीको अभियानमा रमा सिंह प्रवक्ता, कुमार बस्नेत सुरक्षा प्रमुख

मार्सीको अभियानमा रमा सिंह प्रवक्ता, कुमार बस्नेत सुरक्षा प्रमुख

मेडिकल बिचौलियाको रुपमा परिचित एमालेका पूर्व केन्द्रीय सदस्य दुर्गा प्रसाईं उर्फ मार्सीको नागरिक बचाउ अभियानले आज राजधानीमा राजतन्त्र पुनःस्थापना आन्दोलनको शुभारम्भ गरेको छ । अभियानमा सहभागीहरुले राजतन्त्रको पक्ष र गणतन्त्रको विपक्षमा चर्का नारा लगाए पनि प्रसाईंले भने ‘राजतन्त्र–जिन्दावाद’ नभन्न आग्रह गरेका हुन् ।

आजको कार्यक्रममा निम्त्याइएका पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थिति नभएपछि उनले सहभागीहरुलाई ‘राजतन्त्र–जिन्दावाद’ नभन्न सम्झाएको बताइन्छ । उनको तर्क छ, ‘राजतन्त्र चाहिन्छ भने उहाँहरु पनि आन्दोलनमा आउनुपर्यो ।’ 

१३ बुँदे मागसहित उनले जनविद्रोह शुभारम्भ भएको घोषणा गरेका छन् । नयाँ बानेश्वरको सडकमा उक्त अभियानका प्रवक्ता रमा सिंह र सुरक्षा प्रमुख कुमार बस्नेतको पनि सहभागिता थियो । 

त्यसैगरी राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत, संयुक्त राष्ट्रिय आन्दोलन मोर्चा अध्यक्ष तारानाथ लुईंटेल वरिष्ठ अधिवक्ता विष्णु भट्टराई, बुटवल नगरपालिकाका पूर्व मेयर रुप सिंह थापामगर, जनमुक्ति सेनाका पूर्व लडाकु लेनिन विष्टलगायत पनि आजको आन्दोलनमा सक्रियताका साथ सहभागी भएको बताइन्छ ।

उनीहरुले हिन्दु धर्म कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाले ज्यादती रोक्नुपर्ने, राजतन्त्र पुनः स्थापना गर्नुपर्ने, गणतन्त्र खारेज गर्नुपर्ने र ज्ञानेन्द्र आदेश पाए युद्ध लड्न तयार रहेको नारा घन्काएका थिए ।

 

टिप्पणीहरू