दुई समूहबीच भएको हानाहानबारे नेविसंघले अनुसन्धान गर्ने

दुई समूहबीच भएको हानाहानबारे नेविसंघले अनुसन्धान गर्ने

नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले त्रिभुवन विश्वविद्यालयमा केही दिनअघि दुई समूहबीच भएको झडपबारे सत्यतथ्य बुझ्न समिति गठन गर्ने भएको छ । स्ववियु निर्वाचनको मुखैमा संगठनमा किचलो बढेपछि पार्टीको निर्देशनमा नेविसंघले उक्त घटनाको छानविन गर्न लागेको हो ।  

स्ववियु निर्वाचनको सिलसिलामा गत बिहीबार त्रिविमा भएको झडपबारे छानबिन गर्न समिति गठन गर्न लागिएको अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए । उनले आज विज्ञप्ति जारी गर्दै संगठनभित्रको आन्तरिक एकतालाई मजबुत बनाउन संवादका माध्यमबाट समस्याको हल खोज्ने बताएका छन् । 

‘संगठनभित्रको आन्तरिक एकतालाई मजबुत बनाउन सबै समस्याहरुको संवादको माध्यमबाट हल खोज्न म प्रतिबद्धता व्यक्त गर्दछु’, विज्ञप्तिमा भनिएको छ,‘साथै, यो दुःखद घटनाको सत्यतथ्यका लागि छानबिन समिति गठन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

आँउदो चैत ५ गते हुने स्ववियु निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा निष्कर्ष निकाल्न गत फागुन १८ गते बसेको बैठकमा संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच झडप भएको थियो । झडपमा पूर्वकोषाध्यक्ष शिव रिमाल, नेपाली कांग्रेसका युवा नेता हरि आचार्य र पूर्वकेन्द्रीय सदस्य पदम भट्टराई गम्भीर घाइते भएका थिए ।
 

टिप्पणीहरू