प्रतिक्रियावादीहरु सल्बलाउन थाले : प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनलाई बदनाम गर्न प्रतिक्रियावादी शक्तिहरु पुन: सल्बलाउन थालेको बताउनुभएको छ ।
शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौँमा आयोजना गरेको ‘जनयुद्ध,शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अनेक भ्रम छरेर माओवादीलाई घेराबन्दी गर्ने प्रयास भैरहेकाले विभाजित भएका सबै माओवादी घटकहरु एकजुट भएर त्यसको प्रतिकार गर्नुपर्नेमा जोड दिनुभयो ।
आफू नेतृत्वको सरकारले जनयुद्धलाई वैधानिक रुपले स्थापित गराउन थालेपछि प्रतिक्रियावादीहरुले विभिन्न भ्रम छरेर घेराबन्दी गर्न खोजेको प्रधानमन्त्री प्रचण्डको भनाई छ । 'माओवादी कमजोर भएको छैन, हामी विभाजित भएपनि सबै एक ठाउँमा हुँदा बलियो हुने देखेरै प्रतिक्रियावादीहरुले घेरा हाल्ने काम गरेका छन्', जनयुद्धको सुप्रिम कमाण्डरसमेत रहेका प्रधानमन्त्रीले भन्नुभयो, 'माओवादीहरु एक ठाउँमा उभिएर लाखौँ जनता सडकमा ल्याउने हो भने प्रतिक्रियावादीहरु कमजोर हुनेछन् ।'
प्रधानमन्त्री प्रचण्डले फागुन १ गते जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाउने,शहीदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने र शहीद पार्क बनाउने निर्णय गरेर सरकारले जनयुद्धको महत्वलाई स्थापित गराएपछि घेराबन्दी शुरु भएको बताउनुभयो । 'यसबाट प्रतिक्रियावादीहरु तर्सिएका छन् । प्रतिक्रियावादीहरुले भ्रम छर्ने,बदनाम गर्ने र माओवादीलाई सखाप पार्ने अनि त्यस्ता भ्रम चिरेर निरन्तर जनताका पक्षमा काम गर्ने माओवादी रणनीति पछिल्लो समयका स्थापित तथ्य हुन् । त्यसैले कसैले बदनाम गर्दैमा त्यसो हुन् दिइने छैन', उहाँले भन्नुभयो ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सडकमा रहेका माओवादी घटकहरुले सडकबाट र सरकारमा रहेकोले वैधानिक ढंगबाट जनयुद्धका मुद्धा स्थापित गराउन काम गर्नुपर्ने पनि बताउनुभयो । कार्यक्रममा विभिन्न समयमा फुटेका माओवादी घटकका शीर्ष नेताहरु सहभागी छन् ।
टिप्पणीहरू