नेपाल एअरलाइन्सले थाल्यो काठमाडौं–सिउल–काठमाडौं उडानको प्रक्रिया

नेपाल एअरलाइन्सले थाल्यो काठमाडौं–सिउल–काठमाडौं उडानको प्रक्रिया

नेपाल वायु सेवा निगमले छिट्टै काठमाडौं–सिउल–काठमाडौं सोझो उडान गर्न प्रक्रिया थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र दक्षिण कोरियाको राजधानी सिओल नजिकैको इन्चेन इन्टरनेसल एयरपोर्टबीच उडानको निम्ति प्रशासनिक र प्राविधिक प्रक्रिया थालिएको बताइएको छ ।

सो प्रयोजनको निम्ति निगमका नायव महाप्रबन्धक (प्राविधिक) इन्जिनियर विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय सेफ्टी अडिट उपसमिति गठन गरिएको जानकारी दिइएको छ । प्रवक्ता अर्चना खड्काका अनुसार समितिमा निगमको सेफ्टी, इन्जिनियरिङलगायत सम्बन्धित विभागको प्रतिनिधि राखिएको छ ।

नयाँ उडान थाल्नुअघि सम्बन्धित मुलुकको नागरिक उड्डयन निकायले एभिएसन अडिट गर्ने भएकाले निगमले उक्त समिति गठन गरेको हो । उडानको निम्ति दक्षिण कोरियाको नागरिक उड्डयन निकायले छिट्टै निगमको अडिट गर्ने बताइन्छ । 

निगमले भारतका नयाँ दिल्ली, मुम्बई र बैंगलोरसहित अन्य आठ मुलुकका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएको छ । राष्ट्रिय ध्वजाबाहक  निगमसँग न्यारोबडी ए–३२० दुई थान र वाइडबडी ए–३३० दुई थान जहाज छन् ।
 

टिप्पणीहरू