यता मात्रै होइन, पेरिस विमानस्थलमा पनि ‘कम्प्युटर प्रोब्लम’

यता मात्रै होइन, पेरिस विमानस्थलमा पनि ‘कम्प्युटर प्रोब्लम’

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पटक पटक कम्प्युटर सर्भर डाउन भएर विमान उडान अवरुद्ध भएझैँ फ्रान्सको राजधानी पेरिसमा त्यस्तै देखिएको छ । पेरिसको चार्ल्स डी गौल र ओर्ली विमानस्थलका कम्प्युटरमा समस्या देखिएपछि यात्रुको लामो लाइन लागेको बताइएको छ ।

उक्त समस्यापछि हिजो दुबै विमानस्थलको प्रस्थान र आगमन कक्षमा अध्यागमन र सुरक्षा जाँचको कार्यमा असर परेको थियो । पेरिसमा काठमाडौं विमानस्थलमा भन्दा धेरै यात्रुको लाइन देखिएको फोटो र भिडियो सामाजिक सञ्जालमा पोष्ट गरिएका छन् । 

लामो समयको प्रतिक्षाका कारण अधिकांश यात्रु बस्ने ठाउँको अभावमा भुईंमा नै बस्ने र सुत्ने गरेका हुन् । समाचार समिति एएफपीका अनुसार यात्रुले दुई घण्टाभन्दा धेरै समय लाइनमा बिताउनु परेको थियो । 

यात्रुहरु क्रुद्ध हुन थालेपछि प्रहरीले ‘म्यानुअल्ली पासपोर्ट चेक’ गरेका थिए । यता काठमाडौंमा पनि सर्भर डाउन भएको बेलामा त्यस्तै गर्ने गरिएको छ । विमानस्थल कार्यालयका अधिकारीहरुले भने यात्रुको सुविधाको निम्ति पानी आपूर्ति गराएको दाबी गरेका छन् ।

टिप्पणीहरू