बालुवाटारमा बैठक बस्दाबस्दै ड्रोन उडेपछि...

बालुवाटारमा बैठक बस्दाबस्दै ड्रोन उडेपछि...

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक भइरहँदा रहस्यमय हिसाबले ड्रोन उडाइएको छ । यद्यपि यसमा सँलग्न पात्रहरुको भने अहिलेसम्म पहिचान खुल्न सकेको छैन । बेलुकी ५ बजेबाट शुरु भएको बैठक झण्डै ८ बजेसम्म बसेको थियो । तर पौने ७ बजेतिर बैठकस्थलमाथि ड्रोन उडाइएको थियो । प्रधानमन्त्री निवासको दक्षिणतर्फबाट आएको ड्रोन बालुवाटार कम्पाउण्डको आकाशमा उडेको तर उक्त ड्रोन कसले उडाएको भन्नेबारे केही पनि खुल्न सकेको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको उक्त बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का,राष्ट्रपति उम्मेदवार काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको सहभागिता थियो । त्यसैगरी पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, लोसपा अध्यक्ष महन्थ ठाकुर,शरदसिंह भण्डारी र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि बैठकमा हुनुहुन्थ्यो । 

नेकपा एकीकृत समाजवादीका तर्फबाट उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव डा. बेदुराम भुसाल,माओवादी उपमहासचिवहरु जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतलगायत छलफलमा सहभागी भएको बखत ड्रोन उडाइएको बताइन्छ । उहाँहरु राष्ट्रपतिको आगामी निर्वाचनबारे छलफलमा सक्रिय भएको बखत उक्त ड्रोन त्यहाँ पुगेको हो ।
 

टिप्पणीहरू