माओवादी महासचिवको विज्ञप्तिप्रति बार एशोसिएसनको आपत्ति

माओवादी महासचिवको विज्ञप्तिप्रति बार एशोसिएसनको आपत्ति

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतले रिट दर्ता गर्न दिनु भनी दिएको आदेशप्रति माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जारी गरेको विज्ञप्तिप्रति उच्च अदालत बार एशोसिएशन, पाटनले आपत्ति जनाएको छ । 

बारका सचिव रवीन्द्रकुमार ढुंगानाले विज्ञप्ति जारी गर्दै राज्य सञ्चालनको जिम्मेवार भूमिकामा रहेको राजनितिक दलको तर्फबाट स्वतन्त्र न्यायपालिका एंव शक्ति पृथकीकरणको सिद्धान्त विपरीत गैरजिम्मेवारीपूर्ण विज्ञप्ति प्रकाशन गरेको भन्दै आपत्ति प्रकट गरेका हुन्। न्यायाधीशहरुको नामसमेत उल्लेख गरी न्यायपालिकाप्रति हस्तक्षेप गर्ने अभिप्रायले गुरुङको अभिव्यक्ति आएको भन्दै बारले त्यसको भर्त्सना गरेको छ ।

बारका सचिव ढुंगानाले विज्ञप्तिमा भनेका छन्, ‘संविधान र कानूनभन्दा माथि कोही रहन सक्दैन भन्ने मान्यतालाई समेत बेवास्ता गर्दै राज्य संचालनको जिम्मेवार भूमिकामा रहेको राजनितिक दलको तर्फबाट स्वतन्त्र न्यायपालिका एंव शक्ति पृथकीकरणको सिद्धान्त विपरीत गैरजिम्मेवारीपूर्ण विज्ञप्ति प्रकाशन गर्नु तथा अभिव्यक्ति प्रकट गर्नु निन्दनीय एंव घोर आपत्तिजनक विषय भएको हुँदा उक्त विज्ञप्तिप्रति उच्च अदालत बार एशोसिएशन, पाटन घोर भर्त्सना गर्दछ ।’

आफ्नो निहित राजनीतिक अभिस्ट पूरा गर्ने उद्देश्यबाट ग्रसित भई न्याय सम्पादनमा संलग्न न्यायमूर्तिहरुप्रति लक्षित गरी गैरजिम्मेवारीपूर्ण कुनैपनि विज्ञप्ति एंव अभिव्यक्ति प्रकट नगर्न बारले सम्बन्धित पक्षहरुलाई आग्रहसमेत गरेको छ । 

माओवादी केन्द्रका महासचिव गुरुङले हिजो विज्ञप्ति जारी गर्दै अदालतको आदेश संविधान र शान्ति सम्झौताको मर्मविपरीत रहेको भन्दै आपत्ति जनाएका थिए ।


 

टिप्पणीहरू