स्थानीय सरकारले नसोधी बत्ती बालेपछि प्राधिकरण रुष्ट, तत्कालै पैसा तिर्न निर्देशन
नेपाल विद्युत प्राधिकरणसँग अनुमति नै नलिई सडक बत्ती जडान गर्ने स्थानीय तहहरुलाई विद्युत महसुल तिर्न निर्देशन दिइएको छ । विद्युत महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको रहेको भन्दै प्राधिकरणले तत्काल भुक्तान गर्न भनेको हो।
आज सूचना प्रकाशित गर्दै प्राधिकरणले स्थानीय तहले प्राधिकरणको सहमति नलिई आफूखुशी सडक बत्ती जडान गरेकाले त्यस्ता कार्य नगर्न पनि चेतावनी दिएको छ ।साथै, जडित सडक बत्तीको विद्युत खपत मापन गर्न शीघ्र मिटर जडान गर्न प्राधिकरणको निर्देशन छ ।
‘स्थानीय निकायले नेविप्राको सहमति नलिई आफूखुशी सडक बत्ती जडान गर्नेक्रम बढ्दो रहेको र सडक बत्तीको विद्युत शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत खपतको समेत महसुल भुक्तान नहुँदा नेविप्राले ठूलो नोक्सानी व्यहोर्नुपरेको छ,’ सूचनामा भनिएको छ, ‘त्यसैले, सडक बत्तीको बाँकी बक्यौता विद्युत महसुल शीघ्र भुक्तानी गरी दिनुहोला । साथै, नेविप्रा अन्तर्गतको केन्द्रहरुको सहमति नलिई नेविप्राको विद्युत लाइनबाट सडक बत्ती जडान नगर्नुहोला ।’
टिप्पणीहरू