चीन आएका १६ हजार पाहुना राजहंस साइबेरिया फर्के

चीन आएका १६ हजार पाहुना राजहंस साइबेरिया फर्के फाेटाे : सिन्ह्वा

हालैको ठण्डी महिनामा चीनको उत्तरी भेगमा आएका १६ हजार हाराहारीका राजहंस आफ्नो थलो फर्केका छन् । ती चरा गत वर्षको नोभेम्बरतिर रुसको दक्षिणी भेग हुँदै चीनको उत्तरी भेगमा रहेका सीमसार क्षेत्रमा आएका थिए । 

तुलनात्मक रुपमा साइबेरियाको भन्दा कम चिसो भएकाले उनीहरु आहाराको खोजीमा हरेक हिउँदमा चीन आउने गरेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । विशेषगरी चीनको शान्सी प्रान्तको पिङ्लु सिमसार क्षेत्रमा आउने गरेका ती चराहरु मार्च महिनापछि क्रमशः उत्तरतिर फर्कने गरेका हुन् । उक्त सिमसार क्षेत्रलाई सन् २०१२ देखि चीनको राजहंस काउन्टीको उपनाम दिइएको हो ।

राजहंसलाई चीनमा संरक्षित पन्छीको सूचीमा राखिएको छ । यी चरा तापक्रम बढेर १० डिग्रीको हाराहारीमा हुन थालेपछि आफ्नो थलोमा फर्कन्छन् । ६ हजार हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सिमसार क्षेत्रमा प्रत्येक हिउँदमा १० हजारभन्दा बढी सेता रंगका राजहंसहरु देखिने गरेको बताइन्छ ।


 

टिप्पणीहरू