नारामा सीमित हुँदै गएको नारी दिवस

नारामा सीमित हुँदै गएको नारी दिवस

आज विश्वभर १ सय १३ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाईंदैछ । आजको दिनलाई महिला अधिकार, महिला हक र महिला संघर्षको पर्यायवाचाीको रुपमा लिइन्छ । अरु दिनको तुलनामा आज महिला हक, अधिकार, सामाजिक न्याय र लैंगिक समानताको विषयमा चर्को आवाज उठ्ने गरेको छ । अन्यत्र झैँ नेपालमा पनि हरेक वर्ष औपचारिक कार्यक्रमको तामझाम देखिन्छ । 

महिला अधिकार पुरुष सरह अर्थात् बराबरीको हैसियत र समानतामा आधारित हुनुपर्ने भनिए पनि त्यसमा असमानता रहेका कारण महिला अधिकारको कुरो उठेको हो । यी सबै सन्र्दभलाई जोडेर हरेक वर्ष अंग्रेजी क्यालेण्डरको मार्च ८ तारिखका दिन नारी दिवस मनाइन्छ ।

तर, महिलाको पीडा, समस्या अहिले पनि उस्तै छ । अधिकांश महिला आज पनि आफ्नै घरपरिवारबाट मानसिक तथा शारीरिक रुपमा पीडित छन् । आज त्यसबारे चर्का कुरा गरिए पनि बाँकी ३ सय ६४ दिन उनीहरुको आवाज सुन्ने कसले ? 
अधिकारका कुरा जति गरे पनि नारीको पीडा, व्यथा सुन्ने निकायको कमी रहेको महशुस गर्न थालिएको छ । हामै समाजमा पनि दिनहुँजसो कुनै न कुनै घटनामा महिला पीडित भएको खबर बाहिरिने गरेको छ । तर त्यसप्रति कसले ध्यान दिने ?

२१ औँ शताब्दीमा आइसक्दा पनि महिला र पुरुषको सामाजिक हैसियतमा समानता देखिँदैन । कतिपय अवस्थामा उनीहरुलाई आफ्नै घरपरिवारले समाजिक प्रतिष्ठा, इज्जत इत्यादीको नाममा दबाइएको छ ।

‘लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ आज अन्तर्राष्ट्रिय नारी दिवस मनाईंदै छ । यसरी एक  शताब्दीदेखि मनाउन थालिएको उक्त दिवसले पुरुष र महिलाबीचको खाडलमा तात्विक  परिवर्तन ल्याउन सकेको देखिँदैन ।

संयुक्त राष्ट्र संघको निर्णयानुसार सन् १९०९ (वि.सं.१९६६) देखि संसारभरका महिलामा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेका अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउने परम्पराको थालनी गरिएको हो । उक्त अभियान थालनी हुँदा सन् १९०९ सम्म संसारमा नारीलाई मत दिने अधिकार अहिलेका विकसित भनिएका कतिपय मुलुकमध्ये न्यूजिल्यान्ड, अष्ट्रेलिया र फिनल्यान्डमा मात्र सीमित थियो । 

त्यसपछि नारीलाई पुरुषसरह अधिकार र स्वतन्त्रता दिन संयुक्त राष्ट्र संघबाटै अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालिएपछि अन्य मुलुकमा पनि महिलालाई मतदान अधिकार प्राप्त हुन थालेका हो । नेपालमा भने प्रजातन्त्र प्राप्तिसँगै सन् १९५० अर्थात् वि.सं. २००७ सालदेखि नै नारीलाई मतदानको अधिकार प्रदान गरिएको थियो । त्यसअघि नेपालमा मतदानको व्यवस्था नै थिएन । 

अर्कोतर्फ संसारका मुलुकले ५० औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइसकेपछि मात्र नेपालमा वि.सं.२०१६ साल अर्थात् सन् १९५९ मा तत्कालिन प्रधानमन्त्री बिपी कोइरालाको पालादेखि नियमित रुपमा यो दिवस मनाउन थालिएको हो ।

विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालेपछि विभिन्न क्षेत्रमा नारीको सहभागिता बढ्न थालेको निश्चित हो । तर, पछिल्लो समय पनि अधिकांश महिला घरेलु हिंसाबाटै पीडित रहेको तथ्यले देखाउँदा यो दिवसको औचित्यमाथि नै प्रश्न चिन्ह लागेको मान्न सकिन्छ ।

टिप्पणीहरू