यी हुन् रामचन्द्र र सुवासचन्द्र दुबैलाई भोट नहाल्ने ५१ सांसद
राष्ट्रपति चयनका लागि आज भएको निर्वाचनमा ५१ जना मतदाता अनुपस्थित रहेका छन् । संघीय सांसदतर्फबाट १९ र प्रदेशसभाका ३२ जना सांसद भोट हाल्न नगएका हुन् ।
निर्वाचनमा कुल ८८२ मतदाता रहेकोमा ८३१ मत मात्रै खसेको छ । निर्वाचन आयोगका अनुसार संघतर्फ ३१३ र प्रदेशतर्फ ५१८ मत खस्दा दुबैतिरका गरी ५१ जना अनुपस्थित रहे । राष्ट्रियसभाका ५९ र प्रतिनिधिसभाका २७५ गरी संघीय संसद्का ३३४ र प्रदेशका ५५० सांसद राष्ट्रपति चुनावका मतदाता हुन् ।
तर, प्रतिनिधिसभाका दुई सांसद नेपाली काँग्रेसका टेकबहादुर गुरुङ निलम्बित र रास्वपाका रवि लामिछाने पदमुक्त हुँदा निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम मतदाता नामावलीको सूचीमा मतदाता संख्या ३३२ छ । त्यसबाहेक बिरामी परेर विदेशमा उपचार अग्राइरहेका सांसदद्वय काँग्रेसका डा. चन्द्र भण्डारी र माओवादीका वर्षमान पुनले आज भोट हालेनन् । व्यक्ति हत्याको आरोप लागेका एमालेका लक्ष्मी महतो कोइरी पनि भोट हाल्न बानेश्वर गएनन् । जसपाका सांसद सहनाज रहमानको निर्वाचन प्रक्रिया थालिएपछि मृत्यु भएको हो ।
त्यस्तै, राष्ट्रपति निर्वाचनमा तटस्थ रहने निर्णय गरेको राप्रपाका १४ जना संघीय सांसदहरु राजेन्द्र लिङ्देन, दीपक बोहरा, ज्ञानबहादुर शाही (ज्ञानेन्द्र), दीपक सिंह, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, धवलशमशेर राणा, पशुपतिशमशेर जबरा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बिना लामा, बिना जयसवाल र अनिशा मतदानमा सहभागी भएनन् ।
राष्ट्रपति चयन प्रक्रियामा नेपाल मजदुर किसान पार्टीका एकल सांसद प्रेम सुवाल तटस्थ बसे । प्रदेशतर्फ ३२ जनामध्ये राप्रपाका २८, नेमकिपाका ३ र जसपाका एक सदस्यले निर्वाचन प्रक्रियामा सहभागी भएनन् ।
टिप्पणीहरू