कोशीका मुख्यमन्त्रीसहितको टोलि बिहानभर अध्यक्षको घरमा

कोशीका मुख्यमन्त्रीसहितको टोलि बिहानभर अध्यक्षको घरमा

केन्द्रमा राजनीतिक समीकरण बदलिएसँगै बहिर्गमनको संघारमा रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । 

राष्ट्रपति निर्वाचनपछि प्रदेशमा राजनीतिक समीकरण फेरिने चर्चाका बीच मुख्यमन्त्री कार्की अध्यक्ष भेट्न आज बिहानै बालकोट पुग्नुभएको हो । उहाँले झन्डै दुई घण्टा अध्यक्ष ओलीसँग कुराकानी गरेको बताइएको छ । उक्त भेटवार्तामा अरु डेढ दर्जन नेता पनि सहभागी रहेको बालकोट स्रोतले जनाएको छ । 

गत पुस २४ गते माओवादी केन्द्रको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । त्यतिबेला केन्द्रमा उहाँको पार्टी एमाले र माओवादीबीच सत्ता सहकार्य थियो । तर, राष्ट्रपति निर्वाचनको सन्दर्भमा माओवादी पुरानै गठबन्धनमा फर्किएपछि एमाले संघीय सरकारबाट बाहिरिएको छ । 

हिजो राष्ट्रपति निर्वाचनमा पनि एमालेका उम्मेदवार पराजित भएका छन् । योसँगै अब प्रदेशमा पनि माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चा छ । प्रदेशसभाको अंकगणित हेर्दा कोशी प्रदेशमा कार्की नेतृत्वको सरकारको निरन्तरताका लागि माओवादीको समर्थन अनिवार्य देखिन्छ ।
 

टिप्पणीहरू