बौद्धमार्गीहरुको जन्मभूमिमा भिक्षुहरुमाथि गुम्बा अगाडि गोली प्रहार
म्यानमारको दक्षिणी सान–स्टेटको एउटा गुम्बामा सत्तासीन सेनाले गरेको हवाई आक्रमणमा बौद्ध भिक्षुसहित ३० जनाको मुत्यु भएको छ । म्यान्मारको सेनाले अस्ति नान नेइन गाउँमा हवाई आक्रमण र भिषण गोलाबारी गर्दा उनीहरु मारिएका हुन् ।
दुई वर्षअघि नागरिक सत्ता हत्याएको ‘जुन्ता’ भनेर चिनिने सैन्य परिषदले म्यानमारको गाउँदेखि शहरसम्म आतंक मच्चाएको बताइन्छ । म्यान्मार सेना र सशस्त्र विद्रोही प्रतिरोधसमूहबीच देशभर हिँश्रक लडाईं भइरहेको छ ।
सैन्य स्रोतकाअनुसार राजधानी नेपित र थाइल्यान्डसँग सीमा जोडिएको सान–स्टेटमा सबैभन्दा धेरै भिडन्त भएको छ । ‘जुन्ता’ को हवाई आक्रमणपछि गाउँको गुम्बाभित्र लुकेर बसेका स्थानीयलाई क्रूर सेनाले एकै प्रहारमा हत्या गरेको स्थानीय अखबार ‘द कन्तरबाडी टाइम्स’ ले जनाएको छ ।
आक्रमणमा मारिएकामध्ये कम्तिमा ३० जना सर्वसाधारण र तीन जना बौद्ध भिक्षु रहेको विद्रोही समूहले जनाएको छ । ‘सेनाले भिक्षुसहित गाउँलेलाई गुम्बाअगाडि लामबद्ध लगाएर निर्ममतापूर्वक गोली हानेको जस्तो छ,’ केएनडिएफका प्रवक्ताले भने ।
सामाजिक सञ्जालमा हालिएको एउटा भिडियोमा बौद्ध भिक्षुहरूले लगाएको गेरु वस्त्रका कम्तिमा २० वटा शव गुम्बामा थुप्रिएको देखिएको छ । ती शवमा गोली लागेका दागहरु देखिएका छन् । गुम्बाको भित्तामा गोलीले प्वाल पारेको पनि भिडियोमा देखाइएको छ ।
घटनाको विस्तृत विवरण सार्वजनिक नभए पनि निहत्था नागरिकमाथि सेनाले गरेको आक्रमणको उक्त बर्बर घटना नयाँ भने होइन । सो क्षेत्रका अन्य गाउँमा सैन्य अधिकारीहरूले निरन्तर सर्च अभियान चलाइरहेका छन् । त्यसबाट हजारौं मानिस विस्थापित भएको सशस्त्र जातीय विद्रोही समूह करेनी नेशनालिटिज डिफेन्स फोर्स (केएनडिएफ) ले जनाएको छ ।
टिप्पणीहरू