मकवानपुर : न ठेकी, न दार !
लोकसेवा आयोग वा हाजिरी जवाफ प्रतियोगितामा सोधिने एउटा प्रश्नको जवाफ हुन्थ्यो–मकवानपुर । अर्थात् काठको ठेकी उत्पादन हुने जिल्ला भनेर यसलाई चिनिन्थ्यो । तर, यतिखेर मकवानपुरमा पहिला पहिलाजस्तो न काठको ठेकी पाइन्छ, न त ठेकी बनाउने काठ अर्थात् दारको बोट नै ! मकवानपुरगढी, ठिंगन, भैंसे, मनहरी, कैलाशलगायत क्षेत्रका सामुदायिक वनमा केही मात्रामा दारका रुख भेटिए पनि पुरानो इतिहासको पुनरावृत्ति हुने गरी ठेकी उत्पादन गर्न सक्ने पर्याप्तता नरहेको डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णुप्रसाद आचार्य बताउनुहुन्छ ।
दार एक प्रकारको डाले घाँस प्रजातिको बिरुवा हो । मकवानपुरमा ठेकीको उत्पादन मनग्यै हुँदाताका अर्थात् ३०/४० वर्षअघि नै दारको जंगल सखाप भएको पाइन्छ । ‘एकातिर ठेकी बनाउँदा अधिकतम दारको काठ खपत हुने, अर्काेतिर जंगली शाकाहारी जनावरहरूले दारको घाँस खाने र मानिसले पनि घाँसको रूपमा दारलाई उपयोग गर्ने’, प्रमुख आचार्यले भन्नुभयो, ‘अहिले मकवानपुरे इतिहास बोकेको दार र ठेकीको पुनर्उदय गराउनेबारे सोचिरहेका छौँ । ’
दार प्रवर्धन कार्यक्रम
अहिले वन कार्यालय परिसरमा रहेको वन नर्सरीमा १० हजार थान दारका बिरुवा उत्पादन हुने क्रममा छन् । दार डालेघाँसका लागि राम्रो बिरुवा भएपनि यसलाई जडिबुटीका रूपमा पनि प्रयोग गरिएको पाइएको छ । एक दशकअघि एउटा गिरोहले जंगलमा रहेका दारका बोक्राहरू खुर्केर बिक्री वितरण गरेको घटनाले पनि दार नासिएको आशंका गरिएको छ ।
सरकार हुनु त यस्तो
यसबीच, राक्सिराङ गाउँपालिकाले नमुना काम थालेको छ । ‘सेवा पाउने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ नारा दिएर गाउँपालिका जनताको घरघर पुगिरहेको छ । सरकार प्रमुख, उपप्रमुखहरू जनताको घरमा मात्रै पुगिरहेका छैनन्, जनतालाई लाभान्वित हुने चीजवस्तु पनि साथमै लगेका छन् । एकीकृत शिविर नाम दिइएको अभियानका क्रममा सम्बन्धित वडामा पुगेर पीडित, गरिव, अवहेलित, बिरामीहरूको सेवा गर्ने कामलाई गाउँपालिकाले अघि बढाएको हो । ४ नं वडामा राखिएको शिविरमा खरको छानाको घर भएका परिवारलाई जस्तापाता वितरण गरिएको छ भने दीर्घरोगी भएर घरमै लडिरहेका बिरामीको ओछ्यानमै स्वास्थ्यकर्मी लगेर जँचाउने र उपलब्ध औषधिहरू दिने काम गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।
४ नं वडाबाट शुरु भएको यो अभियानलाई वडा नं ६, ७, ८ र वडा नं ९, वडा नं १ र २ मा पनि पु¥याइने मल्लको भनाई छ । उहाँका अनुसार गाउँ जाँदा बीऊ बिजन, ज्येष्ठ नागरिक परिचय पत्र, अपांगता परिचयपत्र समेत वितरण गर्ने गरिएको छ भने सम्पन्न भएका योजनाहरूको ठाउँका ठाउँ मूल्यांकन गर्न लगाएर चेक भुक्तानीसमेत दिने गरिएको छ । राक्सिराङ सीमान्तकृत चेपाङ समुदायको उद्गम स्थल हो भने यो यहाँ तामाङ, चेपाङ, दलित, अन्य जात गरी २५ हजार जनसंख्या छ ।
टिप्पणीहरू