धार्मिक धाम, कम्युनिष्टहरूको लाम
– मोतीराम तिमल्सिना
फागुन १९ गते शुक्रबार बिहानैदेखि अरनिको राजमार्ग तथा भित्री मार्गहरूमा प्रहरी टन्नै तैनाथ थिए । सर्वसाधारणले को भिआइपीको आगमन हुन थालेछ ? भन्दै लख काटिरहेका थिए । अघिल्लै दिनदेखि पनौती २ कुशादेवीमा निर्माण गरिएको आदित्य मोक्षधाममा महायज्ञ महानुष्ठान शुरु भएको थियो । त्यहाँ राष्ट्रपतिदेखि उच्चपदस्थ व्यक्तित्व आउने चर्चा थियो । बिहान ११ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल आउने भनेर प्रहरीले सुरक्षा व्यवस्था मिलायो । तर, उनी दिउँसो १ बजे मात्रै आइपुगे । त्योभन्दा अगावै केपी शर्मा ओली ११ बजे टुप्लुक्क देखा परे । कम्युनिष्ट नेताहरूको आध्यात्मिक मोह देखेर सर्वसाधारणसमेत चकित भए । नेताहरू आए, आदित्य गुरुलाई भेटेर फर्किए ।
गुगल ब्वाई भनेर चिनिने बालगुरु आदित्यका लागि यहाँ मोक्षधाम तयार गरिएको छ । महाअनुष्ठानमा देशका नेता, कर्मचारी, पूर्वकर्मचारी तथा राजनीतिज्ञ गरी १० हजारभन्दा धेरै व्यक्ति सहभागी भएको र ५ हजारले भोजन गरेको बताइन्छ । महायज्ञमा करिब डेढ करोड खर्च भएको छ । दान गर्नेहरूको लर्काे भए पनि गुरुले जो व्यक्तिसँग सहयोग लिन भन्नुभएको थियो, ऊसँग मात्रै लिएको बताइएको छ । अहिले पनौती नगरपालिका–२ स्थित कुशादेवीको दारिम्बोटमा मोक्षधाम तयार भइरहेको छ । त्यहाँ प्रयोग गरिने सामग्री विभिन्न देशबाट झिकाइएको छ । आदित्य फाउण्डेशनका सदस्य–सचिव एवं व्यवसायी, सञ्चारउद्यमी रामेश्वर थापा स्थानीय हुन् । थापाले आफ्नै जन्मथलोको केही मीटर माथि मोक्षधाम निर्माणका लागि जग्गा व्यवस्थापन गरेका छन् । विश्वको नमुना र एक मात्र धार्मिक अनुष्ठान हुने गरी निर्माण प्रारम्भ गरिएको छ ।
मोक्षधाममा शुभारम्भ स्तम्भ बन्ने र ५/५ वटा टाउको भएका दुईवटा नाग बेरिएका हुनेछन् । त्यसको उत्तरतर्फ आदि युग द्वार, सिस महत, प्यासी आत्मा, मोक्ष कुण्ड, राधाकृष्ण, सीताराम, अमोध सिद्धि बुद्ध, मानव स्त्री स्वरूप धारा, घण्टा निर्माण हुने गरी आदित्य गुरुको स्केच छ । दक्षिणतर्फ साधना गृह, ८ ऋषिद्वारा आदि मन्त्र उच्चारण, आदि बाँच्ने आत्मा गाथा चित्र, १२ वटा विभिन्न मूर्ति, सर्प आकारको जलाशय र शंख निर्माण गरिनेछन् । पूर्वतर्फ मूल प्रवेशद्वार, मानव जीवन चक्र, प्रेम कुण्ड, महाभैरव, हनुमान र पोखरी निर्माण हुनेछन् । पश्चिमतर्फ गुरु समाधि द्वार, ८४ शिव लिंग, त्रिगजुर शिवालय, सप्तऋषि, गुरु मस्तिक आकृति, चन्द्रमा विराजित आदित्य र नवग्रह निर्माण हुने गरी आदित्य गुरुले स्केच गर्नुभएको छ । सोही स्केचका आधारमा इञ्जिनियरहरूले तयार गरेको डिजाइनअनुसार निर्माण शुरु भएको छ ।
उपेन्द्र महतोदेखि नाम चलेका अन्य व्यवसायी पनि फाउण्डेशनमा आबद्ध छन् । २०७९ फागुन १८ गते बिहीवारदेखि २० गते शनिबारसम्म सम्पन्न तीनदिने महानुष्ठानमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, एसपी भागेन्द्रपुरुष ढकालदेखि राजनीतिक दलका प्रमुखहरू, जनप्रतिनिधिले पनि सहभागिता जनाए । विश्वकल्याण एवं संकट निवारणको उद्देश्यका साथ आयोजित महानुष्ठानमा विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको भए पनि नामहरू गोप्य राखिएको छ । ‘अरु समुद्रमा महल बनाउँछन्, हामी पनौतीमा स्वर्ग बनाउँछौं,’ आदित्य मोक्षधामका परिकल्पनाकार आदि चन्द्र योगीले लेख्नुभएको छ ।
अनुष्ठानको पूर्वसन्ध्यामा कुशादेवीस्थित लीलावती नदी सरसफाइ गरिएको थियो । पूर्व मुख्यसचिव एवं राजदूत तथा बागमती सरसफाइ महाभियानका अगुवा लीलामणि पौडेलले मान्छेभित्रको फोहोर सफा गरेर बल्ल समाज सरसफाइ गर्नुपर्ने बताउनुभयो । फोहोर सफा गर्नुभन्दा फोहोर नै हुन नदिनतर्फ समुदायका सबै नागरिक सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
टिप्पणीहरू