टिंकर नाका नखुल्दा व्यासवासीलाई जीविकोपार्जनमा समस्या

टिंकर नाका नखुल्दा व्यासवासीलाई जीविकोपार्जनमा समस्या

कोभिड महामारीसंगै सन् २०२० देखि नेपाल–चीन जोड्ने दार्चुलाको टिंकर नाका बन्द छ । लगातार तीन वर्षदेखि नाका बन्द हुँदा व्यासक्षेत्रमा बसोवास गर्ने सौका समुदायलाई जीविकोपार्जनमा समस्या भइरहेको छ । व्यासका स्थानीयले तत्काल टिंकर नाका खोली चीनको ताक्लाकोटसंगको व्यापार सुचारु गराउन सरकारसंग माग गरेका छन् । 

जीविकोपार्जनको मुख्य आधार व्यापार रहेका व्यासी सौका समुदायको जनजीवन टिंकर नाका बन्द भएदेखि प्रभावित हुँदैआएको व्यास गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले बताउनुभयो । ‘नेपाल, चीन र भारतका विभिन्न शहर र वस्तीहरुसम्म वस्तु व्यापार गर्ने सौका समुदायको परम्परागत पेशा हो’ गाउँपालिका अध्यक्ष धामीले भन्नुभयो, ‘तीन वर्षदेखि टिंकर नाका बन्द हुँदा एक हजार जनसंख्या रहेको व्यास गाउँपालिका वडा नम्बर १ को सिंगो जनजिवन प्रभावित बनेको छ ।’

व्यास गाउँपालिकाको वडा नम्बर १ मा छाङरु र टिंकर दुइटा गाउँ मात्र छन् । उच्च हिमपातका कारण वर्षमा ६ महिना मात्र स्थानीयको थाकथलोमा बसोवास हुने गर्छ । हिउदको समय सदरमुकाम खलंगामा बसाइसराई गर्ने सौका जातीको आयआर्जन चुनौतीपूर्ण बनेको वडाअध्यक्ष अशोक सिंह बोहराले बताउनुभयो । 

छाङरु र टिंकर गाउँका सबैजसो स्थानीयले चीनको ताक्लाकोटमा परम्परागत व्यापार गर्दैआएका वडाअध्यक्ष बोहराले बताउनुभयो । सौका समुदायको थाकथलो छाङरु र टिंकर गाउँमा उच्च भौगोलिक अवस्थिति र हावापानीका कारण वर्षमा एकपटक मात्रै खेती हुन्छ । खेतीपातीमा स्थानीयवासीको अभ्यास कम भएको र वैकल्पिक पेशा नभएकोले वडावासीको जीविकोपार्जनमै समस्या भइरहेको वडाअध्यक्ष बोहराको भनाई छ । 

व्यापार व्यवसायमै केन्द्रीत सौका समुदायले परम्परा धान्नका लागि मात्रै खेतीपाती गर्ने गरेको छाङरुका स्थानीय विमलसिंह बोहराले बताउनुभयो । ‘व्यासमा जमिनको उपलब्धता भए पनि वर्षभरी खान पुग्नेगरी खेती गरिदैन, पूर्खाहरुको परम्परा जोगाइराख्न मात्रै कोदो, फापरको सीमित खेती हुन्छ’ उहाँले भन्नुभयो । सौका समुदायको सदरमुकाम खलंगामा घर र बसोवास भए पनि खेतीपाती गर्न जमिन भने छैन ।

केही स्थानीयले सदरमुकाम खलंगामा व्यापार व्यवसाय गरे पनि अधिकांशको आयआर्जन न्युन रहेको छाङरुका अर्का स्थानीयवासी मुकेश सिंह बोहराले बताउनुभयो । ‘केही स्थानीयले खलंगामा पसल, होटल चलाइरहेका छन्, तर आम्दानी न्युन छ, दार्चुलामा व्यापार नै छैन’ उहाँले भन्नुभयो । 

व्यासक्षेत्रका स्थानीयले चीनको ताक्लाकोट शहरमा नेपाली र भारतीय वस्तुको व्यापार गर्छन् । चीन सरकारले नेपाल र भारतका व्यापारीका लागि ताक्लाकोटमा छुट्टै मण्डीसमेत बनाएको छ । तीन वर्षदेखि कोभिड महामारीका कारण नाका बन्द हुँदा स्थानीय व्यापारीले ताक्लाकोट जान नपाएको व्यवसायी योगेश सिंह बोहराले बताउनुभयो । ‘ताक्लाकोट पुगेर व्यापार गर्नु त टाढाको कुरा, आफ्नो पसलमा राखिएको सामान र राशनको रेखदेखसमेत गर्न सकिएको छैन’ उहाँले भन्नुभयो । ताक्लाकोटस्थित बर्डर मार्केटमा नेपाली व्यापारीहरुका तीन दर्जनभन्दा बढी सटर (पसल)हरु छन् । अहिले ती सबै पसलमा राखिएका सामानहरुको हेरचाह समेत गर्न नसकेको व्यवसायीहरुको गुनासो छ । 

यो वर्ष (सन् २०२३ मा) रसुवागढी र हिल्सा नाका भएर ट्राभल एजेन्सीहरुले कैलाश–मानसरोवर यात्रा सञ्चालनको तयारी गरेका छन् । तर परम्परागत रुपमा टिंकर नाका भएर व्यापार व्यवसाय गर्दैआएका व्यासी सौका समुदायका लागि टिंकर नाका खुल्ने÷नखुल्ने निश्चित छैन । व्यासका स्थानीयको समस्या र आवश्यकतालाई मध्यनजर गर्दै तत्काल टिंकर नाका खोल्न नेपाल सरकारसंग व्यास गाउँपालिकाले माग गरेको गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले बताउनुभयो । 

फागुन २५ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई तत्काल टिंकर नाका खोल्न माग गरिएको व्यास गाउँपालिकाले जनाएको छ । टिंकर नाका सञ्चालन गर्न व्यास गाउँपालिका र स्थानीयबाट गरिएको मागलाई सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।

अतिक्रमित नेपाली भूमि कालापानी छेउका दुइटा गाउँहरु छाङरु र टिंकरमा व्यासी सौका जातीको मात्रै बसोवास रहेको छ । ५ हजार २ सय ५८ मिटर उचाईको टिंकर भञ्ज्याङ भएर चीनको ताक्लाकोट शहरमा स्थानीयले व्यापार गर्दैआएका छन् । स्थानीय प्रशासनको लिखित अनुमति पत्र लिएर सीमाक्षेत्रका वासिन्दा ताक्लाकोट शहरसम्म जान पाउने व्यवस्था रहिआएको छ ।  
 

टिप्पणीहरू