बलात्कारीलाई छाडेको भन्दै,भित्तो रङ्गाउँदै

बलात्कारीलाई छाडेको भन्दै,भित्तो रङ्गाउँदै

बलात्कार आरोपीलाई अदालतले सफाइ दिएको भन्दै पीडित महिला र अधिकारकर्मीहरुले उच्च निकायको भित्तोमा पोस्टर टाँसेर विरोध जनाएका छन् । 

संघीय संसद भवन,सर्वोच्च अदालत, प्रधानमन्त्री कार्यालय,सिंहदरबार, जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पोष्टर टाँसेर र रङ्ग छ्यापेर विरोध जनाइएको छ । 

महिला अधिकारकर्मी जस्मिन ओझा र बलात्कार मुद्दामा न्याय मागिरहेकी बिनु यादवले गएराति १२ बजेदेखि बिहान ३ बजेसम्म उक्त कार्य गरेको बताइन्छ । ‘अदालत अन्धो छ’,‘बिनुलाई किन जिउँदो लाश बनाउँदै छौ ?’, ‘यो राज्य बलात्कारी हो’, लेखिएका पोस्टर टाँसिएको अधिकारकर्मी जस्मिनले बताइन् । 

अदालत बिउँझनुपर्ने माग राख्दै उनले भनिन्, ‘राति १२ बजे शुरु गरेर ३ बजे बिहानसम्म राजधानीमा रहेका सबै सर्वोच्च निकायमा विरोधको फरक तरिका रातो रङ्ग र मागका साथ पुगेका थियौं । हरेकको गेटमा हाम्रो एक विद्रोह छ । यो एउटा बिनुको मात्रै होइन,लाखौं बिनुहरुको कथा हो । यो विद्रोहको शुरुवात हो,अब हामी पछि हट्दैनौं ।’

रामेछाप जिल्ला अदालतले जबरजस्ती करणी उद्योगसम्बन्धी मुद्दामा पवन कठायतलाई सफाइ दिएपछि उनीहरुले नयाँ शैलीमार्फत आन्दोलन गरिरहेका छन् ।

टिप्पणीहरू