विश्व उपभोक्ता दिवसमा सन्देशमूलक कार्यक्रम
उपभोक्ता हितसँग सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम गरेर आज ‘विश्व उपभोक्ता अधिकार दिवस’ मनाएका छन् । ‘स्वच्छ ऊर्जा संक्रमणहरुमार्फत उपभोक्ताहरुलाई सशक्त बनाऔं’ भन्ने नाराका साथ सिन्धुली उद्योग वाणिज्य संघले यो दिवस मनाएको छ ।
उपभोक्तालाई सचेत गराउने उद्देश्यले संघले आज सिन्धुलीमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो । जिल्ला समन्वय समितिको कार्यालय, सिन्धुलीको सहकार्यमा भएको कार्यक्रममा झण्डै पाँच दर्जनको सहभागिता थियो ।
उनीहरुले ‘उत्पादनमा शुद्धता कायम गरौं’, ‘लेबल हेरेर मात्र खाद्य सामान किनौं’, ‘तोकिएको मूल्यभन्दा बढी मूल्य नतिरौं’, ‘गुणस्तरीय वस्तु मात्र प्रयोग गरौं’, ‘उपभोग्य वस्तुको सुरक्षित भण्डारण गरौं’, लगायतका प्लेकार्ड बोकेका छन् ।
हरेक वर्षको मार्च १५ मा विश्व उपभोक्ता अधिकार दिवस मनाउने गरिन्छ ।
टिप्पणीहरू