गोकुललाई चितवन, विद्यालाई काभ्रे

गोकुललाई चितवन, विद्यालाई काभ्रे

एकाएक सत्तामा पुगेर तीन महिना नपुग्दै बाहिरिएको एमाले यतिखेर देशव्यापी अभियान लिएर कार्यकर्ता र जनताको घर दैलोमा पुग्न थालेको छ । स्थानीय तहमा समेत गठबन्धनका कारण धक्का महसुस गरेको उसले पार्टी छाडेर गएका नेताहरूलाई पुरानै जिम्मेवारीमा फर्काउनेदेखि जिम्मेवारी दिने गरी मिसन ग्रासरुट अभियान केन्द्रित गरेको छ । 

जिल्लाका नेतालाई अन्यत्र पठाएर अन्यत्रकालाई समग्र गतिविधिको जानकारी लिने र त्यहीअनुसार जिम्मेवारी तोक्ने, समीक्षा गर्ने, पार्टी कमिटी र संगठन सुदृढीकरण गर्ने उद्देश्यले मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको एमाले नेताहरूले बताएका छन् ।

काभ्रेका नेता एवं पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटालाई चितवन पठाइएको छ । उनको जिल्लामा चितवनबाट प्रचण्डका कमाण्डर रहेका यमबहादुर परियार ल्याइएका छन् । काठमाडौँ महानगरका पूर्व प्रमुख तथा केन्द्रीय सदस्य विद्यासुन्दर शाक्यलगायतको टिम काभ्रेमा परिचालित छ । काभ्रेसँग नजिकको नाता राख्ने प्रदेशका पूर्वमन्त्री रामेश्वर फुँयाल अभियानका कमाण्डर छन् ।

०७९ वैशाखमा सम्पन्न स्थानीय तह र मंसिरमा सम्पन्न प्रदेश तथा संघीय निर्वाचनमा एमालेविरुद्ध बनेको मोर्चाका कारण अपेक्षित सफलता हासिल हुन सकेन । ०७४ सालमा एमाले र अन्य दल एक्लाएक्लै प्रतिस्पर्धा गर्दा एमाले जनप्रतिनिधि निर्वाचितका हिसाबले पहिलो पार्टी थियो । अहिले पनि समानुपातिक मतका आधारमा पहिलो पार्टी हो तैपनि स्थानीय तहका जनप्रतिनिधि र नेतृत्वका हिसाबले दोस्रो पार्टी भएको छ ।

केन्द्रीय कमिटीले काभ्रेपलाञ्चोक जिल्लाका लागि फुँयालको नेतृत्वमा केन्द्रीय सदस्य गणेश पहाडी, विद्यासुन्दर शाक्य, नारायण सिलवाल, उषाकिरण तिमल्सिना र यमबहादुर परियारलाई तोकेको छ । फुँयालले समग्र जिल्लाका साथै पनौती, खानीखोला र महाभारत गाउँपालिकाको जिम्मेवारी लिनुहुनेछ भने पहाडीले बेथान्चोक, रोशी, शाक्यले बनेपा र धुलिखेल, सिलवालले चौरी र भुम्लु, तिमल्सिनाले पाँचखाल र मण्डनदेउपुर तथा परियारले नमोबुद्ध र तेमाल गाउँपालिकाको जिम्मेवारीमा हुनुहुन्छ । 

थप जिम्मेवारीका रूपमा अध्यक्ष अशोक ब्याञ्जुले बनेपा र धुलिखेल, उपाध्यक्ष चन्द्र लामाले खानीखोला, महाभारत र रोशी, सचिव राजन भुर्तेलले नमोबुद्ध, तेमाल र चौंरीदेउराली, उपसचिव राजकुमार सापकोटाले पनौती र बेथानचोक, उपसचिव रिता ढकालले पाँचखाल, मण्डनदेउपुर र भुम्लुमा विशेष केन्द्रित भएर अभियान सञ्चालन गर्नेछन् । 

– मोतीराम तिमल्सिना
 

टिप्पणीहरू