‘झारेझारे निम्तो’ आउँदा रवि रिसले रनन

‘झारेझारे निम्तो’ आउँदा रवि रिसले रनन

आफैँ संस्थापक  सदस्य भएको संस्थामा सम्मान लिन बोलाइँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘झारेझुरे कार्यक्रम’ भन्दै सहभागी हुन मानेनन् । चलचित्र पत्रकार संघले नवौँ महाधिवेशनका अवसरमा संस्थापक कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई सम्मान गर्न भनी रविलाई बोलाएको थियो । उनी गएनन्, बरु पत्नीमार्फत खबर पठाए, ‘झारेझुरे कार्यक्रममा जाने गरेको छैन ।’ 

रवि सीधै सम्पर्कमा नआएपछि संघका तत्कालीन अध्यक्ष दिनेश सिटौलाले पत्नी निकितामार्फत खबर गरेका थिए । कार्यक्रममा संस्थापकमध्ये अध्यक्ष भरत शाक्य अमेरिकामा भएका कारण अनुपस्थित थिए । उपाध्यक्षमध्ये अनन्त वाग्ले पुगे तर वर्षान्तले गर्दा सम्मानित हुन मिलेन । अर्का संस्थापक उपाध्यक्ष डिपी साह चक्रवर्ती जबर्जस्ती करणी मुद्दा लागेर मकवानपुरको भीमफेदी कारागारमा छन् ।

कार्यक्रममा संस्थापक महासचिवको हैसियतमा शान्तिप्रिय, सचिव विश्वमणि सुवेदी, कोषाध्यक्ष सुव्रतराज आचार्य, सदस्यमध्ये राजन घिमिरे मात्रै उपस्थित भए । सदस्यमध्ये सविन शाक्यले केही वर्षअघि आत्महत्या गरेका थिए । गीतकारसमेत रहेका बाबुराम दाहाल र जयप्रकाश रिजाल अमेरिकामा छन् । विनोद अर्याल बाबाजीको भेष धारण गरेर मकवानपुरस्थित एक आश्रममा बस्दै आएका छन् । फोटो पत्रकारसमेत रहेका मोहन किम्रिक कसैको सम्पर्कमा छैनन् । नेपालमै हुनेमध्ये रवि लामिछानेबाहेक कार्यक्रममा अरु सबै उपस्थित थिए । संघको नवौं महाधिवेशनबाट नुवाकोटे समीर बलामीको अध्यक्षतामा नयाँ कार्यसमिति चुनिएको छ ।

उपाध्यक्ष संगठनतर्फ विजय सुवेदी ‘आवाज’,कार्यक्रमतर्फ उपाध्यक्ष रातोपाटीकर्मी कुवेर गिरी र उपाध्यक्ष महिलातर्फ सुरक्षा भट्टराई विजयी हुँदा रघुनाथ सापकोटा महासचिवमा निर्वाचित भए । यस्तै  सचिवमा नविन गिरी, समावेशी सचिवमा उद्धव रसाइली, कोषाध्यक्षमा मनिष कार्की र सह–कोषाध्यक्षमा मनिष दाहाल निर्विरोध छानिएका छन् ।  कार्यसमिति सदस्यमा सुरेन्द्र थापा, सीपी जैसी, अनुप भट्टराई ‘फरक कोण’, निशा बजगार्इं, अर्जुन गुरागार्इं, कृष्ण पाण्डे र  महिला सदस्यतर्फ सुष्मा कार्कीका साथैं समावेशी सदस्यमा मोहम्मद जलिम चयन भएको संघले जनाएको छ । 
 

टिप्पणीहरू