सैनिकहरु तरबार नाघेर सुटुक्क

सैनिकहरु तरबार नाघेर सुटुक्क

नेपाली सेनाले ब्यारेकको तारबार नाघेर तालिमबाट भागेकाहरूको खोजी गर्न थालेको छ । गत फागुन ११ गतेदेखि विभिन्न मितिमा देशभरका ब्यारेकबाट बेपत्ता बनेका आधा दर्जन सैनिकलाई सेनाले छ्याप्छ्याप्ती खोजिरहेको छ । भाग्नेमा अधिकांश मधेशी मूलका रहेका छन् । 

सिरहाको चोहर्वा ब्यारेक, शेर गणमा गत मंसिर १ गतेबाट तालिमरत पर्साको धिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वाका २१ वर्षीय धिरजकुमार सोनार अहिलेसम्म ड्युटीमा नफर्किएपछि २८ गतेबाट उनलाई धुइँपत्ताल लगाएर खोज्न थालिएको छ । डोमा साहका नाति एवम् बाबुराम सोनारका छोरा उनी थप अध्ययनका लागि सामान आवश्यक परेको भन्दै गणबाट निस्किएका थिए । फागुन १७ गते शनिवार दिउँसो एक दिनको छुट्टी मागेर हिँडेका उनी २८ गतेसम्म ब्यारेक नफर्किएपछि खोजी कार्य थालिएको हो । अस्थायी ब्याच नम्बर ४३४५० भएका उनलाई पक्राउ गरी उपस्थित गराउन भन्दै क्याप्टेन इन्द्रबहादुर खड्काले प्रदेशभरका सारा सुरक्षा निकायहरुलाई गुहारेका छन् । 

त्यस्तै, काभ्रेपलाञ्चोकको भद्रदल गणमा कार्यरत ब्याच नम्बर ३०३६७० भएका शम्भु मगराती सार्की पनि तालिम छोडेर भागेको बुझिएको छ । सर्लाहीको परवानीपुर गाउँपालिका–१ बस्ने हस्ते मगरातीको नाति तथा शुभलाल मगरातीको छोरा उनले घरायसी समस्या देखाएर २५ दिनको छुट्टी मागेका थिए । फागुन १ गतेदेखि छुट्टीमा बसेका मगराती फागुन २६ गते साँझसम्म पनि हाजिर नभएपछि सेनाले पक्राउ गरेर गणको जिम्मा लगाइदिन निर्देशन दिएको छ । साथै, उनले आफ्नो नाममा नेपाली सेनाबाट जारी भएको ‘स्मार्ट डिजिटल आईडी’ समेत लिएर गएको बताइएको छ । 
यता, नम्बर १ बाहिनी अड्डा, माझिटार ब्यारेक, सिन्धुलीमा तालिमरत अर्का सैन्य पनि लापत्ता भएका छन् । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ४ बस्ने शिवनन्दन पासवानको नाति र जदुनि पासवान दुसाधको छोरा बबलु पासवानलाई गत फागुन १७ गते घण्टे छुट्टीमा छोडिएको थियो । 

मंसिर १ गतेबाट सञ्चालित सैन्य आधार तालिममा संलग्न उनी तोकिएको समयमा हाजिर नभई आफूखुशी गयल परेका हुन् । अस्थायी ब्याच नम्बर ४३७८९ भएका उनी बाहिनी अड्डाको सम्पर्कमा नआएकाले जिम्मेवारी क्षेत्रभित्र कहीँ–कतै फेला परेमा पक्राउ गरी जानकारी गराउन भनिएको छ । वीरगञ्जको श्रीजंग गण, श्रीपुर ब्यारेकमा कार्यरत सुरेन्द्र ढकाल पनि सम्पर्कविहिन रहेको सेनाले जनाएको छ । ब्याच नम्बर ३०३९७४ भएका उनी लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ५ जनसेवा टोल बस्ने पदमदत्तको नाति एवम् शिवलालको छोरा हुन् । ११ गतेदेखि १५ दिने घर बिदामा बसेका उनी फागुन २५ गते हाजिर हुनुपर्ने थियो । तर, २६ गतेसम्म पनि उपस्थित नभएपछि गणले पटकपटक सम्पर्क गर्न खोज्दा पनि सफल हुन सकेन ।

अर्का भगौडा सैनिक हुन् रामेछापका युवराज खत्री । मन्थली नगरपालिका वडा नम्बर १२ का स्थायी बासिन्दा उनी रणसिंहको नाति एवम् तीर्थबहादुर खत्रीका छोरा हुन् । नम्बर १ बाहिनी अड्डा, माझिटार ब्यारेक, सिन्धुलीमा तालिमरत अस्थायी ब्याच नम्बर ४३९६० भएका खत्रीले कसैलाई सुइँको नदिई पेरिमिटरमा लगाइएको तारबार नाघेर कुलेलम ठोकेका हुन् । फागुन २२ गते दिउँसो ३ बजे भागेका उनलाई सेनाले व्यापक खोजी गरिरहेको छ । उदयपुरको साविक हडिया गाविस वडा नम्बर ७ बस्ने खड्कबहादुरको नाति तथा रत्नबहादुरको छोरा लालबहादुर खड्का पनि गायब छन् । बिदामा बसेका उनी फागुन २५ गते कार्यालयमा हाजिर भइसक्नुपर्ने थियो । तोकिएको समयमा उपस्थित नभएपछि सेनाले उनलाई खोज्न थालेको हो । महोत्तरीको कालिसिद्धि गण, बर्दिबास सैनिक शिविरमा कार्यरत नं. ३००२०० का उनी फेला परेमा पक्राउ गरी गणलाई जानकारी दिन मेजर अनुपकुमार शर्माले सबैतिर खबर गरेका छन् । 

 

टिप्पणीहरू