राप्रपापछि एमालेका किसानको माग : मलमा अनुदान कटौती गर्ने निर्णय फिर्ता गरियोस्

राप्रपापछि एमालेका किसानको माग : मलमा अनुदान कटौती गर्ने निर्णय फिर्ता गरियोस्

नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ सुर्खेतले रासायनिक मलमा अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । 

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै महासंघले यस्तो माग राखेको हो । अध्यक्ष विनोदकुमार गिरीले सरकारको तर्फबाट किसान र कृषि क्षेत्रका लागि दिदैँ आएको एक मात्र अनुदान कटौती गर्ने अत्यन्त असंवेदनशील र गैरजिम्मेवारी निर्णय अविलम्ब फिर्ता लिनुपर्ने बताएका छन् ।

खेतीको समयमा प्रायः मलको अभाव खेपिरहेका किसानलाई अझ समस्यामा धकेल्ने गरी आएको अनुदान कटौतीको निर्णयले किसान र कृषिलाई थप निरुत्साहित गरेको गिरीको ठहर छ । ‘सरकारको यस निर्णयले देशका ६० प्रतिशत किसान समग्र कृषि क्षेत्र र आम उपभोक्ताहरुमा गम्भिर असर पारेको छ । किसानलाई प्रोत्साहन तथा संरक्षण गर्ने कार्यक्रम ल्याउनुको सट्टा उनीहरुलाई नै मार पर्ने गरी गर्ने यसप्रकारका निर्णयप्रति किसान महासंघ खेद प्रकट गर्दै घोर भत्र्सना गर्दछ,’ ज्ञापन पत्रमा भनिएको छ । 

महासंघले आफ्ना माग यथाशीघ्र सम्बोधन नगरिए देशभरका किसान सडकमा उत्रिन बाध्य हुनेसमेत चेतावनी दिएको छ । यसअघि राप्रपाको किसान संगठनले पनि सरकारलाई निर्णय सच्याउन माग गर्दै अन्यथा सडक संघर्षमा उत्रिने चेतावनी दिएको थियो ।

टिप्पणीहरू