चिनियाँ प्रभाव रोक्ने भन्दै भारतद्वारा अफ्रिकी मुलुकहरुसँग सैन्य अभ्यासको तयारी

चिनियाँ प्रभाव रोक्ने भन्दै भारतद्वारा अफ्रिकी मुलुकहरुसँग सैन्य अभ्यासको तयारी

भारत र २२ अफ्रिकी मुलुकबीच संयुक्त सैन्य अभ्यासको तयारी गरिएको छ । सैन्य सहयोग आदान प्रदान गर्ने उद्देश्यले ती मुलुकहरुबीच सैन्य अभ्यास गर्न लागिएको हो ।

अफिन्डेक्स २३ नामक उक्त अभ्यास पर्सि मंगलबारदेखि पुनेको अनुध मिलिटरी स्टेशनमा हुन लागेको छ । अभ्यासमा भारतमा निर्मित नयाँ प्रविधिका सैन्य हातहतियारको प्रयोग हुने भारतीय सुरक्षा अधिकारीहरुले बताएका छन् ।

इण्डिया न्युज नेटवर्कका अनुसार अफ्रिकी मुलुकहरुमा बढ्दो चिनियाँ प्रभावलाई रोक्न उक्त अभ्यास गर्न लागिएको हो । २२ मध्ये नौ वटा मुलुकबाट अभ्यासमा सैनिकहरुको नै सहभागिता हुने जानकारी दिइएको छ । इथियोपिया,घाना,केन्या, लेसोथो,नाइजर, सिसेल्स,तान्जानिया, युगाण्डा र जाम्बियाले त्यसमा भाग लिन आफ्ना सैनिक पठाउने निधो गरेका छन् ।

भारतले यस्तै अभ्यास सन् २०१९ को मार्चमा पनि पुनेमा नै आयोजना गरेको थियो । नौ दिनसम्म हुने यस पटकको अभ्यासलाई चार भागमा विभाजन गरिएको छ ।  तालिम,मानवीय कार्य, शान्ति स्थापनालगायत विषयमा अभ्यास केन्द्रित हुने बताइएको छ । 

अभ्यासको विभिन्न कार्यक्रममा अधिकांश मुलुकका सैन्य प्रमुखको उपस्थिति रहने बुझिएको  छ । भारतीय पक्षबाट रक्षामन्त्री राजनाथ सिंहको उपस्थिति रहने छ ।
 

टिप्पणीहरू