मकवानपुरमा सत्ता गठबन्धन कमजोर, विप्लवसहितको नयाँ वाम गठबन्धन बलियो

मकवानपुरमा सत्ता गठबन्धन कमजोर, विप्लवसहितको नयाँ वाम गठबन्धन बलियो

सत्ताधारी गठबन्धनलाई समेत फुटाएर बनेको नयाँ वाम गठबन्धनले मकवानपुर जिल्लामा प्रारम्भिक सफलता हासिल गरेको छ । विप्लव नेतृत्वको अखिल क्रान्तिकारीलाई समेत हात लिएर नेकपा एमालेको अनेरास्ववियु र नेकपा एकीकृत समाजवादीको अनेरास्ववियूबीच बनेको नयाँ वाम गठबन्धनले आज सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा प्रारम्भिक सफलता हासिल गरेको बताइएको छ ।

जिल्लाक आठ वटा क्याम्पसमध्ये उत्तरी क्षेत्रको थाहानगरस्थित पालुङ बहुमुखी क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीलाई सर्वसम्मत नेतृत्व छाडेर भागबण्डा गरेपछि अन्य सात वटा क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भएको हो । 

प्रारम्भिक चुनावी नतिजमा विप्लव, एमाले र समाजवादी निकट विद्यार्थी संगठन सम्मिलित वाम गठबन्धनले सफलता हात पारेको छ । यो गठबन्धनले जनप्रिय बहुमुखी क्याम्पस, वंशगोपाल बहुमुखी क्याम्पस र मनहरी बहुमुखी क्याम्पस तथा निर्मल बहुमुखी क्याम्पस गरी चार वटा क्याम्पसमा जीत हासिल गरेको छ । 

जनप्रियमा विप्लव नेतृत्वको मुना गोलेको टिम विजयी भएको छ । त्यसैगरी वंंशगोपालमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका दिवस सिलवाल निर्वाचित भएका छन् भने एकीकृत समाजवादीनिकट अनेरास्ववियूकै कुमार घिसिङ नेतृत्वको टिमले मनहरीमा जीत हासिल गरेको छ । 

हेटौँडा १९ मा रहेको निर्मल बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुका सरोज अर्यालले अनेरास्ववियु क्रान्तिकारीका उम्मेदवारलाई पराजित गरी विजयी बनेका छन् । अब हेटौँडा क्याम्पस, वन विज्ञान क्याम्पस र मकवानपुर बहुमुखी क्याम्पसको नतिजा सार्बजनिक हुन बाँकी छ । तीमध्ये हेटौँडा क्याम्पसमा एमालेनिकट अनेरास्ववियुकै अभि मैनालीले मतान्तर बढाइरहेका छन् । 

पछिल्लो नतिजा अनुसार साना मानिएका चार वटा क्याम्पसमा नयाँ गठबन्धनले जीत हासिल गरेर काँग्रेस र माओवादी निकट विद्यार्थी संगठनलाई पछाडि पारेका छन् । बाँकी तीन क्याम्पसमध्ये हेटौँडा क्याम्पसमा पनि एमाले नेतृत्वको अखिल अगाडि देखिन्छ ।

टिप्पणीहरू