चैत १२ भित्र स्ववियु चुनाव गरिसक्न त्रिविको निर्देशन
स्ववियु निर्वाचन अवरुद्ध भएका क्याम्पसमा पुनः निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालयले चैत १२ गतेसम्मको समय दिएको छ । विभिन्न कारणले चुनाव अवरुद्ध भएका देशभरका क्याम्पसमा आगामी चैत १२ गतेभित्र निर्वाचन सम्पन्न गरिसक्न त्रिविले निर्देशन दिएको ।
चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुने भएकाले त्यसअघि नै स्ववियु चुनाव गर्न त्रिविका उपकुलपति प्रा।डा। धर्मकान्त बास्कोटाले सम्बन्धित पक्षलाई जानकारी गराएका छन् । आज विज्ञप्ति जारी गर्दै उनले आपसी समझदारी कायम गरेर निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए ।
‘आगामी चैत १२ गते सञ्चालन हुन गइरहेको परीक्षालाई मध्यनजर गरी सो अगावै आपसी समझदारी कायम गर्दै कसैले कसैको हारजित नसम्झी विद्यार्थी युनियनको जीतलाई केन्द्रबिन्दुमा राखी स्थगन भएका निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न सबै क्याम्पस प्रशासन, विद्यार्थी नेतृत्वकर्ता, विद्यार्थी वर्ग, सबै राजनीतिक दल, स्थानीय प्रशासन, आमसञ्चार जगत, अभिभावक वर्गलगायत सम्बन्धित सम्पूर्ण पक्षलाई हार्दिक अनुरोध गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, त्रिविले अधिकाशं क्याम्पसमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताएको छ । हिजो भएको निर्वाचनमा केही क्याम्पसमा विद्यार्थी संगठनहरुबीच विवाद भएको थियो । जसले गर्दा मतदान नै स्थगित गर्नुपर्ने अवस्था सिर्जना भयो ।
त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये १३ वटामा निर्वाचन प्रक्रिया अवरुद्ध छ ।
टिप्पणीहरू