रवि लामिछानेसँग भिड्न काँग्रेसबाट एक दर्जन नाम सिफारिस
आगामी वैशाख १० गते हुन गइरहेको चितवन-२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले ११ जना उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको छ ।
हिजो सम्पन्न प्रदेश समिति र जिल्ला पदाधिकारीको संयुक्त बैठकले गत बैशाखमा सम्पन्न निर्वाचनमा पराजित उमेश श्रेष्ठसहित ११ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाउने निर्णय गरेको हो । सिफारिस भएका उमेदवारहरुमा देवेन्द्र गुरूङ, जीतनारायण श्रेष्ठ, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, उमेश श्रेष्ठ, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठ रहेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको चैत १ गतेको पत्रअनुसार क्षेत्रीय समितिबाट पार्टीको विधानको धारा ३२ ८ (क) अनुसार सो सिफारिस गरिएको क्षेत्रीय सभापति भरतप्रसाद लामिछानेले बताए । बैठकले उपनिर्वाचनलाई सहज बनाउन र विजय हासिल गर्नका लागि यसअघि चितवन क्षेत्र नं २ बाट कारबाहीमा परेका नेता तथा कार्यकर्ताको कारबाही फुकुवाको लागि माथिल्ला कमिटीलाई अनुरोध गर्ने निर्णयसहित पत्राचारसमेत गरेको छ ।
जसअनुसार कारबाही फुकुवा गर्न सिफारिस भएका नेताहरुमा पूर्वजिल्ला सभापति विकास कोइराला, महासमिति सदस्य मीना खरेल, पूर्व सांसद् जगन्नाथ पौडेल, पूर्वसांसद् भीमबहादुर श्रेष्ठ, तरुण दलका पूर्वअध्यक्ष शम्भु अर्याल, तरुण दलका पूर्वसचिव आनन्द राउत, क्षेत्रीय प्रतिनिधि जीतबहादुर थापालगायत छन् ।
मङ्सिर ४ को निर्वाचनमा चितवन-२ बाट भारी मतान्तरसहित विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेपछि उक्त क्षेत्र रिक्त हुन गएको हो । रास्वपाले त्यहाँ लामिछानेलाई नै उठाउने निर्णय गरिसकेको छ ।
टिप्पणीहरू