एमालेबिना के को राष्ट्रिय सहमति : विष्णु पौडेल
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टीलाई बाहिर राखेर राष्ट्रिय सहमतिको रटान लगाइएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति रोष प्रकट गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले आफ्नो पार्टीलाई बेवास्ता गरेर खोजिने राष्ट्रिय सहमतिले मुलुकको हित नगर्ने चेतावनी दिनुभएको छ । पूर्व अर्थमन्त्रीसमेत रहनुभएका पौडेलले आफ्नो दलका मन्त्रीलाई प्रधानमन्त्रीले अपमानजनक ढंगले निकालेको समेत दाबी गर्नुभयो ।
‘प्रधानमन्त्रीले कस्तो राष्ट्रिय सहमति खोज्नुभएको हो ? जनमतको हिसाबले देशको सबैभन्दा ठूलो दल एमालेसहितको राजनीतिक दलबिनाको सहमति कस्तो राष्ट्रिय सहमति हो ?’ उहाँले अगाडि भन्नुभयो, ‘एमाले बिनाको राष्ट्रिय सहमतिको कुरा गरेको भए एमाले त्यसको विरोधमा छ । जनता र मुलुकले त्यस्तो राष्ट्रिय सहमति चाहेको होइन ।’
विश्वासको मतको प्रस्ताव राख्दै प्रधानमन्त्री प्रचण्डले एमाले र राप्रपाले सरकार छोडेपछि पुनः विश्वासको मत लिनुपरेको धारणा राख्नुभएको थियो । त्यसको जवाफमा एमाले नेता पौडेलले आफूहरुलाई सरकारबाट जबर्जस्ती निकालिएको बताउनुभएको हो ।
टिप्पणीहरू