लागूऔषध कारोबार बढ्दो, नेपालीसँगै भारतीयसमेत संलग्न

लागूऔषध कारोबार बढ्दो, नेपालीसँगै भारतीयसमेत संलग्न

गत शनिबार बिहान चितवनमा अवैध लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गर्यो । राप्ती नगरपालिका १२ का ३२ वर्षीय चन्दबहादुर प्रजा ६५ केजी गाँजासहित प्रहरी नियन्त्रणमा पुगे ।

इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले उनलाई गाँजा बोकेर हिडिँरहेको अवस्थामा नियन्त्रणमा लिएको २४ घण्टा नबित्दै उता वीरगञ्जमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको थियो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले  २७ वर्षीय भारतीय ओम प्रकाश सिंहलाई १ सय ४९ केजी गाँजासहित ईनर्वागाउँबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार बीआर ०७ जीए ९६९१ नम्बरको मिनीट्रक जाँच गर्ने क्रममा ट्रकमा लुकाइराखेको अवस्थामा उक्त लागूऔषध फेला परेको हो । सोही दिन काभ्रेपलाञ्चोकको पाँचखालबाट लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिइएको थियो ।
 
पाँचखाल नगरपालिका २ देवीस्थानका ३० वर्षीय विश्व तामाङ १० केजी गाँजासहित पक्राउ परेका हुन् । उनको घरमा चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध फेला पारेको प्रहरीको भनाइ छ । यी सबै पछिल्लो समय नेपालमा लागूऔषधसँग सम्बन्धित अपराधका केही प्रतिनिधि घटना मात्रै हुन् । 

यस्ता अपराध पछिल्ला दिनमा छ्यापछ्याप्ती बढेका छन् । केही समययता मुलुकमा नेपाली नागरिक मात्र नभई भारतीय नागरिक समेत ठूलो परिमाणमा लागूऔषधसहित पक्राउ परेका छन् । यो संख्या क्रमशः बढ्दै गएको छ । 

सामान्यतयाः शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागूऔषध भनिन्छ । नेपाललगायत अन्य मुलुकमा यस्ता (गाँजा, अफिम, हिरोइन, मर्फिन, कोकिन) पदार्थको बिक्री वितरण, ओसारपसार र प्रयोगमा रोक एवम् प्रतिबन्ध लगाइएको छ । तर, कानूनले नै प्रतिबन्ध लगाएको वस्तुको ओसारपसारमा वृद्धि भइरहेको तथ्यले देखाइरहेको छ । 

नेपाल प्रहरीको आर्थिक वर्ष २०७८/०७९ को तथ्याङ्कले काठमाडौँ उपत्यकाभित्र मात्रै लागूऔषधसहित ६ सय १७ जना पक्राउ परेको देखाउँछ । लागूऔषधसँग सम्बन्धित ४ सय १२ मुद्दा प्रहरीमा दर्ता भइसकेका छन् । 

कोशी प्रदेशमा लागूऔषधसहित १ हजार १ सय २१ जना पक्राउ पर्दा ७ सय ७९ मुद्दा प्रहरीमा दर्ता हुन आएको छ । मधेश प्रदेशमा लागूऔषधको कारोबारमा संलग्न १ हजार २ सय ८५ जनालाई प्रहरी पक्राउ गर्दा ९ सय २२ मुद्दा प्रहरीमा दर्ता भएको छ । 

सोही अवधिमा बागमती प्रदेशमा ५ सय ३० जना समातिँदा लागूऔषधसँग सम्बन्धित ३ सय ४३ मुद्दा प्रहरीमा दर्ता भएको छ । उता गण्डकी प्रदेशमा ४ सय ९ मुद्दा प्रहरीमा दर्ता हुँदा ५ सय ७३ जना पक्राउ परेका छन् । 

यसैगरी, लुम्बिनी प्रदेशमा ७ सय १८ जना लागूऔषधसहित पक्राउ पर्दा ४ सय ३६ मुद्दा प्रहरीमा दर्ता भएका छन् । सोही समयावधिमा कर्णाली प्रदेशमा लागूऔषधसँग सम्बन्धित ९५ मुद्दा प्रहरीमा दर्ता भएको र १ सय ७३ जना पक्राउ परेको बताइन्छ । सुदूरपश्चिम प्रदेशमा ५ सय ७० जना लागूऔषधसहित समातिँदा ३ सय ५३ मुद्दा प्रहरीमा दर्ता भएको छ ।  

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म उपत्यकाभित्र लागूऔषधसँग सम्बन्धित २ सय ४२ मुद्दा प्रहरीमा दर्ता भएका छन् । ३ सय ६१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोशी प्रदेशमा ६ सय ६१ जना लागूऔषधसहित पक्राउ पर्दा ४ सय १९ मुद्दा प्रहरीमा दर्ता भएको रेकर्ड पाइएको छ । 

मधेश प्रदेशमा लागूऔषधसँग सम्बन्धित ५ सय २० मुद्दा प्रहरीमा दर्ता हुँदा ७ सय ५२ जना समातिएका छन् । बागमती प्रदेशमा २ सय ९९ जना लागूऔषधसहित समातिँदा १ सय ९८ मुद्दा प्रहरीमा दर्ता भएका छन् । 

गण्डकी प्रदेशमा २ सय ५१ जना लागूऔषधसहित पक्राउ परेकोमा १ सय ७१ मुद्दा प्रहरीमा दर्ता भएको छ । लुम्बिनी प्रदेशमा ३ सय ९३ जनालाई प्रहरीले नियन्त्रणमा लिँदा लागूऔषधसँग सम्बन्धित २ सय ४२ मुद्दा प्रहरीमा दर्ता भएको छ । 

यसैगरी, कर्णाली प्रदेशमा उक्त अवधिमा लागूऔषधसँग सम्बन्धित ६३ मुद्दा प्रहरीमा दर्ता भएको छ । १ सय १२ जनालाई पक्राउ गरिएको बताइएको छ । सुदूरपश्चिम प्रदेशमा लागूऔषधको कारोबारमा संलग्न भएको आरोपमा ३ हजार २ सय ९१ जनालाई प्रहरीले नियन्त्रणमा लिँदा २ हजार १ सय ६६ मुद्दा दर्ता भएको तथ्याङ्कले देखाएको छ । 

नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेल पछिल्लो समय मुलुकमा लागूऔषधसँग सम्बन्धित घटना बढ्दै गएको बताउँछन् । आर्थिक अभावका कारण रातारात धनी बन्ने मनसायले मानिसहरु यस्तो कुकर्ममा संलग्न हुने गरेको उनको भनाइ छ । 

‘केही समययता मुलुकमा नेपाली नागरिक मात्र होइन, भारतीय समेत ठूलो परिमाणमा अवैध लागूऔषधसहित पक्राउ पर्ने गरेका छन्,’ उनले भने, ‘सीमित व्यक्तिको आर्थिक प्रलोभनमा परेर वा रातारात धनी बन्ने चाहनाले मानिसहरु यस्ता गतिविधिमा संलग्न हुने गरेको पाइएको छ ।’

प्रहरीले बरामद गरेको लागूऔषध कानूनबमोजिम नष्ट गर्ने गरेको जानकारी पनि उनले दिएका छन् । यस्ता अपराध नियन्त्रणमा नेपाल प्रहरीले विभिन्न समयमा सचेतामूलक कार्यक्रममार्फत जनचेतना अभिवृद्धि गर्ने गरेको समेत उनको दाबी छ ।

टिप्पणीहरू