जंगी अड्डाको कथा र द्वन्द्वपछिका असमान ज्यादति
पृतनालाई कमाण्ड बनाउने नाममा भद्रगोल भएको सैनिक संगठनलाई सच्याउने अभ्यास शुरु भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालमा आठै पृतनालाई कमाण्डमा लगेर चारजना दुईतारे जर्नेललाई हेडक्वार्टरमा जम्मा पारिएको थियो । अहिले फेरि आठ पृतना कायम भएपछि हेडक्वार्टरमा थुप्रिएको जनशक्ति फिल्डमा गएको छ । पोखराबाट तानिएर राष्ट्रिय सुरक्षा परिषद्मा रहेका जर्नेल विनयविक्रम राणालाई डिफेन्स युनिभर्सिटीको पनि जिम्मा दिइएको छ ।
उपत्यकामा पृतनापतिको जिम्मेवारी सम्हालेका सागर थापालाई कार्यरथी पनि हेर्नु भनिएको छ । ताराध्वज पाँडेले डिजिएमओ र डिजिआइएमको जिम्मा पाए । डिजिएमटी बाबुराम श्रेष्ठ, प्रवन्धरथी हिरालाल जोशी, सम्भाररथी प्रदीप केसी, टोखाको स्टाफ कलेजमा सन्तोष ढकाल र नगरकोट शिक्षालयमा सहदेव खड्का खटिएका छन् । उता, डिफेन्स युनिभर्सिटीको बेहाल छ । सेनाका त्यस्ता युनिभर्सिटी विभिन्न देशमा छन् । भारत, चीन, अमेरिका, पाकिस्तान, बंगलादेशमा हाम्रा सेना तालिम लिन जान्छन् । नेपालमा चाहिँ युनिभर्सिटी खोल्ने नीतिगत विषयमा सरकार सहमत हुन्छ, तर पर्याप्त बजेट दिँदैन, चासो पनि दिँदैन । सिडिओलाई तालिम दिइन्छ, स्टाफ कलेजमा । विदेशमा हाम्रा सेनाले तालिम लिन्छन् ।
विदेशीहरु जंगल, माउन्टेन, वारफेयर, डिज्यास्टरको तालिम लिन आउँछन्, तर एउटा कलेज पनि खोल्ने ल्याकत हामीसँग छैन । गौरवसमशेर राणा प्रधानसेनापति हुँदादेखि लेखापढी भएको एनडियुले गति पाउन सकेको छैन । बजेट दिनै आनाकानी गरिँदा त्यस्तो भएको हो । फलस्वरुप छत्रमानसिंह गुरुङ, गौरवसमशेर राणा, राजेन्द्र क्षत्री, पूर्णचन्द्र थापा हुँदै अहिले प्रभुराम शर्मासम्म गर्दा पाँच सेनापति फेरिइसकेर पनि युनिभर्सिटीको काम जहाँको तहीँ छ ।
उता, द्वन्द्वका नाममा माओवादी अध्यक्ष प्रचण्डविरुद्ध मुद्दा दर्ता हुँदा हंगामा भइरहेको छ । तर, विस्तृत शान्ति सम्झौतामा तीन महिनाभित्र सम्पूर्ण द्वन्द्वकालीन पीडितहरुका विवरण संकलनसहित राहत र क्षतिपूर्तिका माग संबोधन गर्ने भनिए पनि अहिलेसम्म नटुंगिँदा फौजमा बेहाल छ । मैना सुनुवार काण्डमा निरञ्जन बस्नेत, बबि खत्री, अमित पुन, भैरवनाथ गणका राजु बस्नेत, बर्दियाको चिसापानी काण्डका अजित थापा, रमेश स्वाँर द्वन्द्वकालिन व्यवहारका कारण आजीवन पीडित भएका छन् । कुमार लामाले बेलायतमा तीन वर्ष बन्दी हुनुप¥यो ।
प्रहरी महानिरीक्षक हुँदा कुवेरसिंह रानाले इन्टरपोलमा जाने भिसा पाएनन् । दोरम्बा काण्डमा मुछिएका राममणि पोखरेल बर्खास्त भए । चिसापानी काण्डमा परेका अजित त शान्ति सेना जानबाट बञ्चित भए नै, तर माओवादीका नाममा अत्याचार गरेको भन्दै बालकृष्ण ढुंगेल र पुष्कर गौतमजस्ता केहीले जेल सजायँ र आममाफी पाए पनि सोहीअनुसारको व्यवहार राज्यको ड्युटी पूरा गर्नेले नपाएको भनी सुरक्षा फौजतर्फ व्यापक गुनासो सुनिन्छ ।
टिप्पणीहरू