‘आदिवासीको आन्दोलनमा बल प्रयोग नगर्नु’

‘आदिवासीको आन्दोलनमा बल प्रयोग नगर्नु’

कोशी प्रदेश पुनःनामाङ्नको माग गर्दै भइरहेको विरोध प्रदर्शनमा प्रहरीको लाठी चार्जबाट घाइते भएका पदम लिम्बू (लाजेहाङ) को उपचारको क्रममा निधन भएको छ । लिम्बूको निधनपछि आदिवासी जनजाति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आन्दोलनको क्रममा प्रहरीको ज्यादतीबाट नागरिकको मृत्यु भएको भन्दै आयोगले आपत्ति जनाएको हो । नेपालको संविधानले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला भएर आफ्नो माग राख्न पाउने अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै आयोगले मृतक लिम्बूलाई उचित क्षतिपूर्ति दिन र आन्दोलनरत पक्षको माग सम्बोधन गर्न भनेको छ । 

आयोगले विज्ञप्ति जारी गर्दै आफ्नो हकअधिकारको माग गर्ने आदिवासी जनजाति तथा व्यक्तिमाथि गरिएको बर्बरतापूर्वक दमनबाट ज्यान गएको घटना निन्दनीय भएको जनाएको छ । 

‘आफ्नो दायित्वविपरीत सरकारले शान्तिपूर्ण रुपमा आफ्नो हकअधिकारको माग गर्ने आदिवासी जनजाति व्यक्ति–समुदायलाई गरेको बर्बरतापूर्वक दमनबाट ज्यानसमेत गएकोले मृतकलाई उचित क्षतिपूर्तिसहित आन्दोलनरत समुदायको माग गम्भिरतापूर्वक सुन्न र वार्ताको माध्यमबाट मागको सम्बोधन गर्न आदिवासी जनजाति आयोग नेपाल सरकारलाई गम्भीर ध्यानाकर्षण गराउँदछ’, विज्ञप्तिमा भनिएको छ । 

त्यस्तै, आयोगले शान्तिपूर्ण रुपमा आफ्नो माग उठाउने आदिवासी जनजाति समुदायको आन्दोलनमा बल प्रयोग नगर्न–नगराउन अनुरोध गरेको छ । 

कोशी प्रदेशको पुनःनामाकरण गर्नुपर्ने माग राख्दै विभिन्न संघ संस्थाले गत चैत ५ गतेदेखि आन्दोलन गरिरहेका छन् । सोही आन्दोलनको क्रममा घाइते भएका लिम्बुको गएराति सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो ।

टिप्पणीहरू