संसद बैठकमा सत्य निरुपण विधेयक पेश गरिँदै
प्रतिनिधि सभाको बैठक आज दिँउसो १ बजे बोलाइएको छ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्न लागेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन), विधेयक, २०७९ माथि विचार गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्नुहुने संघीय संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै, प्रधानमन्त्री तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री प्रचण्डले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्नुहुने अर्को कार्यसूची पनि छ ।
सभामुख देवराज घिमिरेले पूर्वसभासद् गणेशप्रसाद विमलीको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्नुहुने छ । २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक सदस्यको रुपमा निर्वाचित सभासद् विमलीको ७४ वर्षको उमेरमा चैत ७ गते निधन भएको हो ।
टिप्पणीहरू