मीटरब्याज पीडित र महानगरका प्रहरीबीच खुलामञ्च गेटमा घम्साघम्सी

महोत्तरीको बर्दिबासबाट हिँडेर काठमाडौँ आइपुगेका मधेस प्रदेशका मीटरब्याज पीडितहरुलाई खुलामञ्च प्रवेशमा रोक लगाइएको छ । 

आज काठमाडौँ आइपुगेका पीडितहरु र्यालीसहित खुलामञ्च छिर्न खोज्दा काठमाडौँ महानगरको प्रहरीले गेटमै रोकेको हो । मीटरब्याजी पीडितहरु खुलामञ्च प्रवेश गर्न खोज्दा महानगरले अवरोध गरेपछि दुईपक्षबीच धकेलाधकेल समेत भएको छ । 

नगर प्रहरीले अवरोध गरेपछि पीडितहरुले महानगरविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । पीडितहरुले ‘मीटरब्याज साउलाइ कारबाही गर’, ‘बर्दिबास हेटौंडा हुँदै पैदलयात्रा सफल पारौँ’, ‘पीडितलाई न्याय दे’, ‘मीटरब्याजीलाई कारवाही गर’, ‘महानगरको दमन बन्द गर’, जस्ता नारा लगाएर खुलामञ्चको गेटमा धर्ना दिइरहेका छन् । 

नाराबाजी र ठेलमठेलले झडप हुन खोजेपछि महानगरीय प्रहरीका एसपी राजु पाण्डेको नेतृत्वमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । यसअघि मीटरब्याजी संघर्ष समितिको आयोजनामा मातातीर्थबाट बिरोध र्याली निस्केको थियो । र्याली गुर्जुधारा, सतुङ्गल, नैकाप, ढुंगेअड्डा, कलंकी, रवीभवन, कालिमाटी, टेकु, त्रिपुरेश्वर हुँदै खुल्लामञ्चमा पुगेर बिरोध कार्यक्रम गर्ने तयारी थियो । 

प्रधानमन्त्रीलाई आफ्नो पीडा सुनाउन घरमा ताल्चा लगाएर बालबच्चासहित १२ दिनअघि बर्दिबासबाट निस्किएका उनीहरु आज बिहान मातातीर्थ आइपुगेका हुन् । त्यहाँ खाना पकाएर खाएपछि उनीहरु पैदल टुँडिखेल आएका हुन् ।

टिप्पणीहरू