झलनाथ खनाल पनि मीटरब्याज पीडितहरुको आन्दोलनमा जाने

झलनाथ खनाल पनि मीटरब्याज पीडितहरुको आन्दोलनमा जाने

मीटरब्याज पीडितहरुको आन्दोलनमा विभिन्न राजनीतिक दलका नेताहरुले ऐक्यबद्धता जनाउन थालेका छन् ।

बर्दिबासदेखि हिँडेरै काठमाडौँ आएका मधेश प्रदेशका मीटरब्याज पीडितहरूले हिजोदेखि शुरु गरेको बिरोध प्रदर्शनमा सहभागी भएर नेताहरुले समर्थन र ऐक्यबद्धता जनाएका हुन् । 

जनमत पार्टीका अध्यक्ष सिके राउतले हिजै काठमाडौँको मातातीर्थ पुगेर उनीहरुलाई भेटेका थिए । त्यसक्रममा उनले पीडितहरुले उठाएको माग सम्बोधन गराउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका थिए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही उनीहरुको आन्दोलनबारे बुझ्न आज बिहान माइतीघर मण्डला पुगेका थिए । तर, उनीसँग भने पीडितहरुले भेट गर्न अस्वीकार गरिदिए । उनीहरूले राजा–महाराजाको पालाबाटै मीटरब्याजको समस्या भोग्दै आएकाले राजावादीको समर्थन नचाहिने भन्दै शाहीलाई भेट्न नचाहेका हुन् ।

यसैबीच आजै पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि मीटरब्याज पीडितको मागप्रति समर्थन जनाउन आन्दोलनस्थल जाने तयारीमा रहेको बताइएको छ । उहाँ पीडितको धर्नामा सहभागी हुन दिउँसो ३ बजे बानेश्वरस्थित एभरेष्ट होटल अगाडि जाने कार्यक्रम तय भएको हो । 

घरमा ताल्चा लगाई बालबच्चा च्यापेर ११ दिनको पैदलयात्रापछि हिजो बिहान काठमाडौँ आइपुगेका पीडितहरुले दिउँसोबाटै आन्दोलन थालेका हुन् । उनीहरु आफ्ना माग सम्बोधन गराएर मात्र फर्किने तयारीमा छन् । प्रधानमन्त्रीबाहेक अरुसँग वार्ता नगर्ने उनीहरुको अडान छ । यता सरकारले पनि मीटरब्याज पीडितहरुसँग वार्ता गर्न टोली गठन गरेको छ ।

 

टिप्पणीहरू