मेयरमाथि मोबिल छ्यापियो, नजिकै बहुमतको पर्चा

मेयरमाथि मोबिल छ्यापियो, नजिकै बहुमतको पर्चा

सिरहाको गोलबजार नगरपालिका मेयर श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेको आरोपमा एकजना समातिएका छन् । उक्त घटनमा संलग्न रहेको भन्दै प्रहरीले सिराहाकै नहरा गाउँपालिकाका साधुशरण महरालाई आज समातेको हो । 

प्रहरीका अनुसार पक्राउ परेका महरालाई जिल्ला प्रहरी कार्यालय सिरहा लगिएको छ । उनी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट फुटेको नेकपा (बहुमत)को कार्यकर्ता भएको आशंका गरिएको छ । 

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला एकजना अपरिचित व्यक्तिले केही कागज दिएजस्तो गरिरहेकै बेला सँगै आएका अर्का व्यक्तिले मेयर श्रेष्ठमाथि मोबिल छ्यापेका थिए । त्यहाँ बहुमतको जनसंघर्ष परिचालन समितिको पर्चासमेत भेटिएको थियो ।  

मेयर श्रेष्ठले लघुवित्तमार्फत् गरिब जनतालाई उठिवास लगाएको, मिटर व्याजीहरुलाई संरक्षण गरेको,  बजारको करमा एक करोड ५२ लाख ब्रम्हलुट गरेको भन्दै जनकारवाही गरेकाे पर्चामा उल्लेख गरिएको छ ।

 

त्यस्तै, फर्जी कागज बनाई गोलबजार- १ मुक्सार बाटोको ६२ लाख हिनामिना गरेको, अवैधानिक तरिकाले नदी दोहन गरेको, अन्यायपूर्ण तरिकाले नगरपालिकामा कार्यरत कर्मचारी हटाइएको र आफ्ना नेता-कार्यकताविरुद्ध सुराकी गरेकोले उनलाई जनकारवाही गरेको जनाइएको छ ।

 

घटनाको विषयमा बुझ्न आएका कार्यकर्ताले केहीबेर पूर्व-पश्चिम लोकमार्गमा प्रहरीविरुद्ध नाराबाजी गर्दै चक्काजाम गरेका थिए ।

टिप्पणीहरू