सेतो मच्छिन्द्रनाथको रथयात्रा मार्गमा सवारी साधन चलाउन रोक

सेतो मच्छिन्द्रनाथको रथयात्रा मार्गमा सवारी साधन चलाउन रोक

काठमाडौं उपत्यकामा मनाइने सेतो मच्छिन्द्रनाथको रथ यात्रा आजदेखि शुरु हुँदैछ । चैत्र शुक्ल अष्टमीका दिनदेखि शुरु हुने यो जात्रामा वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको दर्शन गर्नेको भीड लाग्ने गरेको छ । 

मच्छिन्द्रनाथको दर्शन गर्दा सुःख, सुस्वास्थ्य, दीर्घायु तथा आर्थिक उन्नति हुने जनविश्वास छ । सेतो मच्छिन्द्रनाथ हेर्नेको घुईँचो हुने भएकाले रथयात्रा व्यवस्थापन समितिले रथयात्राको रुट र समय तोकेको छ ।

आज अपरान्ह ४ बजे मच्छिन्द्रबहालदेखि तीनधारा पाठशालासम्म रथयात्रा गरिने छ । त्यसपछि उक्त रथलाई जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्याइने छ । भोलि साँझ ५ बजे रथलाई असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोकासम्म पुर्याइने बताइएको छ ।

पर्सि अपरान्ह ४ बजेदेखि हनुमानढोका, चिकंमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगन र आगामी शनिबार साँझ साढे ५ बजेदेखि लगनमा रहेको वृक्ष परिक्रमा गरिने समितिले जनाएको छ । 

आइतबार साँझ साढे ५ बजे लगनबाट निकालिएको रथ ज्याबहाल द्यः, यूतुननि, कोहिती, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, किलागल, भेडासिङ्ग, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म पुर्याएपछि जात्रा सम्पन्न हुनेछ ।

रथयात्राको समयमा तोकिएको रुटमा कुनै पनि किसिमका सवारी साधन चलाउन पाइने छैन । फुटपाथ पसल र सवारी साधन पार्किङ्गमा पनि रोक लगाइएको छ ।

टिप्पणीहरू