पहिचान माग्दा लाठो बर्साउनु लोकतन्त्रप्रतिको बेवास्ता हो : जसपा
जनता समाजवार्दी पार्टी (जसपा) ले पहिचानको आधारमा प्रदेशको नामाकरणका लागि भैरहेको आन्दोलनमा बल प्रयोग नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
कोशी प्रदेशको नाम परिवर्तन गर्न माग गर्दै बिभिन्न जातीय संगठनले गरिरहेको आन्दोलनप्रति समर्थन जनाउँदै जसपाले जनताका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको हो । जसपाका प्रवक्ता मनिसकुमार सुमनले आज विज्ञप्ति जारी गर्दै जनताको माग र आन्दोलनलाई बेवास्ता गर्नु लोकतन्त्रप्रतिको बेवास्ता हुने बताए ।
पहिचानको आन्दोलन कुनै समुदाय वा जातिविरुद्ध नरहेको भन्दै जसपाले उत्पीडित समुदायको आन्दोलनप्रति राज्य नकारात्मक हुन नहुनेमा जोड दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘जनताको माग र आन्दोलनलाई बेवास्ता गर्नु लोकतन्त्रप्रतिको बेवास्ता हो । अतः जनताले प्रदेश नं. १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामाकरण हुनुपर्छ भन्ने माग र आन्दोलनलाई यथोचित रुपमा सम्बोधन गर्न, गराउन जसपा नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ ।’
करिब एक महिनादेखि प्रदेश नम्बर १ मा जारी रहेको पहिचान र अधिकारको आन्दोलनलाई सरकारले गम्भीरतापूर्वक नलिनुले अनेक प्रश्न उठेको जसपाको निष्कर्ष छ । पहिचानको आधारमा नामाकरण गर्नुपर्छ भन्ने जनताको मागप्रति यस अघिका सरकार झैँ वर्तमान सरकार पनि असहिष्णु देखिएको विज्ञप्तिमा जनाइएको छ ।
‘पहिचान र अधिकारको आन्दोलनलाई दमन गर्न सरकार उद्दत देखियो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाले जनता समाजवादी पार्टी, नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । उत्पीडित राष्ट्रियताप्रतिको सरकारको दृष्टिकोण आज आएर उदाङ्गिएको छ ।’
जसपाले पहिचान प्राप्तिको आन्दोलनमा होमिएका पदम लिम्बु (लाजेहाङ) को प्रहरीको बर्बर दमनबाट गम्भिर घाइते भई निधन भएकोमा समेत दुःख व्यक्त गरेको छ ।
टिप्पणीहरू