गणेशमान सिंहबाट विद्यार्थीले के सिक्ने ?
– विराट अनुपम
चैत ५ गते आइतवार स्ववियु चुनाव भएसँगै विद्यार्थी राजनीतिभित्र पक्ष विपक्षका तर्क मास मिडिया र सोसल मिडियामा भरिभराउ छन् । यसै मेसोमा विद्यार्थी राजनीतिबारे बहस गर्नुपर्ने समय आएको छ । १९७२ कात्तिक २४ मा जन्मेर २०५४ असोज २ गते भौतिक रूपमा बिदा भए पनि गणेशमानको व्यक्तित्व भने अमर छ । गणेशमान सिंहलाई सर्वमान्य नेता र लौहपुरुष भनेर चिनिन्छ । उनलाई चिनिने त्यागी नेता भन्ने ट्याग उत्तिकै चलेको छ । गणेशमानलाई दिइने यी सबै परिचय सही हुन् । तर, गणेशमान सिंह त्यति मात्रै होइनन् । उनी धेरै थोक हुन् ।
सिंहको राजनीति कांग्रेसभन्दा जेठो हो । नेपाली राष्ट्रिय कांग्रेस २००३ सालमा भारतमा बीपीहरूसँग मिलेर स्थापना गर्नुअगाडि नै नेपाल प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएर राणाको जेलमा चार वर्ष बसी जेल तोडेर भागिसकेका थिए गणेशमान सिंह । नेपालको पहिलो दल । प्रजापरिषद्मा उनलाई जोड्ने काम पुष्पलालका दाजु तथा शहीद गंगालालले गरेका थिए । उनै गणेशमान सिंहको जीवनीलाई विद्यार्थी आन्दोलनमा सहभागीहरूले कसरी अनुसरण गर्न सक्छन् भन्नेवारे यो सामग्रीमा नौ बुँदामा चर्चा गरिएको छ ।
१. विद्रोही चेत
राज्यले दमन गरेको छ भने विद्रोही हुन सजिलो हुन्छ । बीपी कोइराला परिवारलाई राणा सत्ताले देश निकाला ग¥यो । त्यो आफैँमा विद्रोहको प्रत्यक्ष कारण थियो । राणा सत्ताका प्रभावशाली बडाकाजी रत्नमानका नाति गणेशमानलाई विद्रोही बन्न कुनै व्यक्तिगत कारण थिएन । दरवार स्कूल पढेका, काठमाडौँमा राम्रो आम्दानी गर्ने परिवारबाट र राणाकालमै पद्मशमशेरको अड्डामा मासिक १६ रूपैयाँ तलब पाएर जागिर गर्ने गणेशमान सिंहमा विद्रोह ल्याउने व्यक्तिगत कुनै कारण थिएन । तर, उनले देश र जनताका लागि भनेर विद्रोह रोजे । दलमा आबद्ध हुँदा मात्रै ज्यान जाने युगमा दल प्रवेश गरेर राणाविरोधी मोर्चामा जोडिए । विद्रोही चेकै कारण राणाविरुद्ध दश वर्ष, राजा (पञ्चायत) विरुद्ध तीस वर्ष र आफ्नै पार्टीको खराब नेतृत्वविरुद्ध पाँच वर्ष गरी जीवनका ४५ वर्ष गणेशमान सिंहले विद्रोहमै बिताए । यो सानो विद्रोही चेत हैन । अहिले संविधानले नै बोल्ने, लेख्ने र प्रदर्शन गर्ने अधिकार दिएको समयमा त जायज मुद्दामा पनि विभिन्न डर र लोभले विद्रोह गर्न नसक्ने हरेकलाई गणेशमान सिंहको विद्रोही चेत आफैँमा एक भव्य प्रेरणा केन्द्र हो ।
२. प्रजातान्त्रिक चेत
विद्रोही चेत हुनु र प्रजातान्त्रिक चेत हुनु फरक–फरक हो । विद्रोही चेतले विद्रोहको भाषा बुझ्छ । विद्रोह गैरप्रजातान्त्रिक पनि हुन सक्छ । गणेशमान सिंहमा राम्रो सुझबुझ थियो । उनले बन्दुकबाहेक विकल्प नभएको राणाकालमा बाहेक शान्तिपूर्ण विद्रोहको युगमा शान्तिकै बाटो लिए । २००७ सालमा सशस्त्र संघर्ष गरेको नेपाली कांग्रेसले जनआन्दोलन ०४६ भने शान्तिपूर्ण ग¥यो । गणेशमान सिंहले बन्दुकदेखि शान्ति दुवैको सही समयमा सही तरिकाले उपयोग गरे । ०२८ सालमा ओखलढुंगामा कप्तान यज्ञबहादुर थापाको नेतृत्वमा भएको सशस्त्र कदमको विरोध गरेका उनी शान्तिपूर्ण आन्दोलन अवतरणको पक्षमा थिए । राणा कांग्रेस सरकारको २००७ सालमा प्रस्ताव आउँदा होस् वा २०४७ को संविधान बन्दा कुनैमा पूर्ण खुशी थिएनन् । पूर्ण प्रजातन्त्र नआएको भन्दै प्रश्न गरिरहे । प्रजातन्त्रलाई पूर्ण स्थान दिनुप¥यो उनले भनिरहे । यही प्रजातान्त्रिक चेतले हुनुपर्छ, उनले चुनावमा जनताको राम्रो साथ पाए । २०१५ को पहिलो आमचुनावमा काठमाडाँै क्षेत्र नम्बर १ बाट नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालसँग चुनाव लडी विजयी भए । पुष्पलालको ७८४८ मत आउँदा गणेशमानको १०,९८६ मत थियो । संविधानले व्यापक स्वतन्त्रता दिएको युगमा विद्यार्थी आन्दोलनलाई हुलहुज्जत हैन शान्तिपूर्ण रूपमा प्रजातान्त्रित चेतले गर्न सकिन्छ भन्ने उदाहरण गणेशमानको जीवनले दिन्छ ।
३. अध्ययनशीलता
गणेशमान सिंहको अध्ययनको पाटो प्रायः ओझेलमा छ । उनले १९९६ सालको हालको एसईई जस्तै म्याट्रिक परीक्षामा प्रथम डिभिजन ल्याएका थिए । केही दशक अगाडिसम्म प्रथम डिभिजन ल्याउने मान्छे दुर्लभ भएको नेपालमा आठ दशकभन्दा अगाडि गणेशमान सिंहले प्रथम डिभिजन ल्याई म्याट्रिक सकेर कोलकातामा आइएस्सी गर्दैगर्दा राजनीतिमा जोडिएपछि बाँकी नियमित औपचारिक पढाइमा भने ब्रेक लाग्यो । गणेशमान सिंहका लेख, अन्तर्वार्ता र भाषणमा अध्ययनशीलताको विम्ब पाइन्छ । विद्यार्थीले पढ्ने समय र स्रोत पर्याप्त भएको अहिलेको युगमा आवश्यक अनौपचारिक अध्ययनदेखि औपचारिक अध्ययनमा राम्रो प्राप्तांक ल्याउने ऊर्जा गणेशमान सिंहको जीवनी आफैँ हो ।
४. त्यागी भावना
त्यागको अर्को नाम नै गणेशमान सिंह हो । राणसँगको निकटतादेखि श्रीमती–छोराछोरी छाडेर गणेशमान सिंहले राजनीतिक सक्रियता देखाए । पदका लागि लोभ गरेका थिएनन् । २००७ सालमा मन्त्री बन्न प्रस्ताव आउँदा आफू नबनेर सुन्दरराज चालिसेलाई प्रस्ताव गरेका थिए । ०४६ सालको जनआन्दोलनमा राजाले प्रधानमन्त्री हुन भन्दा उनले कृष्णप्रसाद भट्टराईलाई सिफारिस गरे । अहिले सुन्दै कथाजस्तो लाग्ने युगमा गणेशमान सिंहको त्यागले दीर्घकालीन राजनीतिमा हिँड्नेहरूलाई एक प्रेरणा दिएको छ । राजनीति तत्कालको व्यक्तिगत फाइदाभन्दा दीर्घकालीन राष्ट्र र समाज हितको काम भन्नेमा गणेशमान सिंहको जीवन आफैँमा एक उदाहरण हो । उसो त २०१२ सालको वीरगञ्ज महाधिवेशनमा पार्टी सभापति चाहेका थिए । तर, सुवर्णसमशेरसँग हारेपछि आफ्नो गुटको भाग यति उति भनेर गनगन गरेनन् । यो अर्को त्याग हो । २४ वर्षको उमेरमा १५ वर्षकी मंगलादेवीसँग विवाह गरेको चार महिनामै राजनीतिक कारणले एक दशक छुट्टिनुपरेको थियो । नेपाली कांग्रेस स्थापनाताका बीपीलाई निर्वासनकै समयमा ८ हजार रुपैयाँ सहयोग गरेको सिंहकी छोरी डाक्टर मीताले आफ्नो पुस्तक ‘द स्ट्रगल अफ गणेशमान सिंह’मा उल्लेख गरेकी छन् ।
५. देशप्रेम
गणेशमान सिंहमा देशप्रेम अथाह थियो । ००७ सालको क्रान्तिको अवतरण भारतीय लाइनमा हुने कुराको विरोधी थिए उनी । बीपीको मेलमिलापको नीतिको नेपालमै आएर गर्ने संघर्षको भने पक्षमा रहे । जत्तिकै सत्तासँग बेमेल भए पनि देशहितको मुद्दामा साथ दिने कुरामा गणेशमान सिंह एक सुन्दर उदाहरण हुन् । यसलाई विद्यार्थीले अनुसरण गर्न सकिने देखिन्छ ।
६. सर्वस्वीकार्य नेतृत्व
०४६ सालको आन्दोलन कांग्रेस र कम्युनिष्ट मिलेर गरेको संयुक्त जनआन्दोलन हो । त्यसैको बलमा प्रजातन्त्र अर्थात् बहुदल आयो । त्यसको सर्वोच्च कमाण्डर गणेशमान सिंह थिए । उनीभन्दा अगाडि त्यो स्तरको आन्दोलन भएको थिएन । बीपी कोइरालाले कम्युनिष्टसँग मिलेर जानै नसकिने भनेकाले आन्दोलन भएको थिएन । गणेशमान सिंहले बीपीभन्दा एक कदम अगाडि आएर संयुक्त जनआन्दोलनको मोर्चा सम्हाली नतिजा दिए । त्यसैको बलमा सर्वमान्य नेता बन्न सफल भए । कांग्रेस सभापति नभइकनै त्यो स्तरको नेतृत्व गरेका थिए । जायज मुद्दामा जायज आन्दोलन गर्न पद र विचारको धर्को नकोरी काम गर्न सकिन्छ भन्ने उदाहरण गणेशमान सिंहको जीवन र नेतृत्व हो ।
७. अन्तर्राष्ट्रिय व्यक्तित्व
गणेशमान सिंह कांग्रेस सभापति कहिल्यै भएनन् । तर, सभापतिभन्दा प्रभावशाली भए । उनी अन्तर्राष्ट्रिय प्रजातन्त्रवादी नेता भए । त्यसैको सम्मानमा धेरै विश्वस्तरीय सम्मान तथा पुरस्कार पनि पाएका छन् । सन् १९९१ मा पाएको उ थान्त शान्ति अवार्डदेखि सन् १९९३ मा संयुक्त राष्ट्रसंघले दिएको मानवअधिकार पुरस्कार त्यसका केही उदाहरण हुन् । यो स्तरको पुरस्कार अरु प्रजातान्त्रिक योद्धाले नेपालमा पाएका छैनन् । आफ्नो क्षेत्रको काममा कसरी विना पद र विना लोभ अन्तर्राष्ट्रिय व्यक्तित्व र ब्राण्ड बन्न सक्छ भन्ने उदाहरण गणेशमान सिंहको जीवनबाट देखिन्छ ।
८. परोपकारी
परोपकारको अर्को नाम हो गणेशमान सिंह । उनले मानव तथा पशु सेवामा धेरै साथ दिएका थिए । गणेशमान सिंह मन्त्री हुँदाका निजी सचिव रामहरी जोशील गणेशमान सिंहको तलब मन्त्रालयबाट लिएर घरसमेत नपुग्ने बताएका थिए । तलबको कुरामा मात्रै हैन मानवीयताका अरु कुरामा पनि गणेशमान सिंह परोपकारी थिए । राणा कालको जेलमा हुँदा बलबहादुर पाँडे दिसापिसाब एकै ठाउँ हुँदा सबै सेवा उनैले गर्थे । कुकुरहरूको सेवामा समेत गणेशमान सिंह सक्रिय थिए । उनले कुकुरलाई गर्ने मायाकै कारण जेल तोडेर भाग्दा नचिनेका कुकुरले दुःख दिन खोज्दा आफूले सेवा गरेका गाउँका कुकुरले बचाएको प्रसंग ‘लौहपुरुष’ पुस्तकमा घनेन्द्रपुरुष ढकालले लेखेका छन् । अहिलेको स्वार्थी दुनियाँमा गणेशमान सिंहको परोपकार अनुकरणीय छ ।
९. पार्टीभन्दा माथि उठ्ने ल्याकत
गणेशमान सिंहले नै बनाएको पार्टी हो नेपाली कांग्रेस । कांग्रेसका सबै सक्रिय संस्थापकभन्दा राजनीतिक रूपमा सिनियर गणेशमान सिंह नै थिए किनभने उनी नेपालको पहिलो दल प्रजापरिषद्बाटै सक्रिय थिए । आफूले दुःख गरेर बनाएको नेपाली कांग्रेसले गलत गरेको समयमा सल्लाह दिए । भएन । दबाब दिए । भएन । अन्तिममा विद्रोह गरे । गिरिजाप्रसाद कोइरालाले पार्टीलाई देश र जनताको पक्षमा नलगाएको भन्दै सिंहले आखिरी जीवनका पाँच वर्ष पार्टीको खराब नेतृत्वविरुद्ध विद्रोह गरेर अलग भए । यसले खराब काम गर्ने नेतृत्व हुँदा पार्टीमा जबरजस्त बस्नुको कुनै औचित्य नभएको सन्देश पाउन सकिन्छ ।
टिप्पणीहरू