श्रीमानको कान टोक्नेलाई कडा कारबाही गराउन कराउँदै श्रीमती

श्रीमानको कान टोक्नेलाई कडा कारबाही गराउन कराउँदै श्रीमती

मकवानपुरमा आफ्ना श्रीमानको कान टोक्नेहरुलाई तत्काल कारबाही गर्न एक महिलाले माग गरेकी छन् । श्रीमान टेकप्रसाद न्यौपानेको आधा कान टोकेर छिनाएको भन्दै श्रीमती संगीता न्यौपानले प्रहरी प्रशासनसमक्ष आग्रह गरेकी हुन् । तर, जाहेरी लिन नमानेपछि प्रहरीले उनलाई जनप्रतिनिधि गुहार्न सुझाव दिएको बताइन्छ ।

मकवानपुरगढी गाउँपालिका–६ अजिङ्गरेमा आफ्नो बारीमा काम गरिरहेका न्यौपानेमाथि स्थानीय भवानीप्रसाद चौंलागाईं र कृष्णप्रसाद चौंलागाईंले निर्घात कुटपिट गरेको श्रीमतीको आरोप छ । ४९ वर्षे न्यौपानेमाथि ५९ वर्षका चौंलागाईंहरुले खेतमा कुट्ने र कान टोक्ने गरेका थिए ।

बारीमा मकै छरिरहेका उनीमाथि अकस्मात कुटपिट भएको र बायाँ कान टोकेर आधा छिनाएको श्रीमती संगिताको भनाइ छ । आफूले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चौलागाईंहरुलाई पक्राउ गरेर अनुसन्धान गर्न जाहेरी दिन खोजे पनि प्रहरीले अस्वीकार गरेको उनले बताइन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जग्गाको विषयमा उनीहरुबीच झगडा भएको बुझिएकाले दुबै पक्षलाई राखेर ऐलानी जग्गाको विषयमा गाउँपालिकासँग समन्वय गर्न सल्लाह दिएको स्वीकारेका छन् ।

टिप्पणीहरू