धुर्मुसले अलपत्र पारेको रंगशाला निर्माण छिट्टै थाल्ने प्रधानमन्त्रीको प्रतिवद्धता
धुर्मुस-सुन्तली फाउन्डेसनले बिचैमा काम छोडेपछि अलपत्र परेको भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम छिट्टै अघि बढाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दावी गर्नुभएको छ।
आज भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै उहाँले भरतपुर महानगरपालिका– १५ मा निर्माणाधीन रंगशालाको एक वा दुई हप्तामा समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको हो । त्यसक्रममा उहाँले छिट्टै काम अगाडि बढ्ने पनि बताउनुभयो ।
हाँस्यकलाकार सिताराम कट्टेल 'धुर्मुस' र कुन्जना घिमिरे 'सुन्तली' को नामबाट स्थापित धुर्मुस–सुन्तली फाउन्डेसले निर्माण शुरु गरेको रंगशाला पछि पैसा नउठेको भन्दै निर्माण रोकेको थियो । ऋणको भार बढ्दै गएको भन्दै फाउन्डेसनले भरतपुर महानगरलाई निर्माणको जिम्मा लिन आग्रह गरेपनि कागजी प्रक्रिया नमिलेकाले काम अघि बढेको छैन ।

रंगशाला निर्माणका क्रममा सामान ल्याएको उधारो र ऋण करिब १८ करोड रुपैयाँ तिर्न बाँकी रहेको फाउन्डेसनले बताउँदै आएको छ । ऋण तिर्न कानूनी कठिनाइ परेकाले रंगाशालाको स्वामित्व लिन नसकिएको भरतपुरका मेयर रेणु दाहालले बताउँदै आउनुभएको छ ।
आज रेणुसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले तत्काल समस्या समाधान गर्ने बताएपछि रंगशाला निर्माणमा परेको गाँठो फुक्ने अपेक्षा गरिएको छ ।
टिप्पणीहरू