शेरबहादुर–आरजू गिरोहमा बस्दिन भन्दै स्वर्णिम वाग्ले रवितिर
अर्थविद् तथा नेपाली काँग्रेसका नेता डा. स्वर्णिम वाग्लेले पार्टी परित्याग गरेका छन् । संस्थापन इतर खेमाका नेतालाई खबर गर्दै उनले काँग्रेस छोडेको घोषणा गरेका हुन् ।
वाग्लेले इतर समूहका नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई मोबाइलमा म्यासेज पठाएर आफू काँग्रेसमा नरहने जानकारी गराएको बताइएको छ । म्यासेजमा उनले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य तथा देउवापत्नी आरजू देउवा राणाको निरन्तर हेपाइ र अपमानले पार्टी छाड्नुपर्ने अवस्था आएको उल्लेख गरेका छन् ।
काँग्रेस छाडेका उनी वैशाख १० गते हुने उपचुनावमा तनहुँ–१ बाट उठ्ने तयारीका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुसँग छलफलमा रहेको बुझिएको छ । यसअघि रास्वपाका प्रवक्ता मुकुल ढकालले वाग्लेसँग कुराकानी भइरहेको र तनहुँबाट उपचुनाव लड्न प्रस्ताव गरेको बताएका थिए ।
रास्वपा स्रोतका अनुसार सम्भवत : आजै वाग्लेको उम्मेदवारी घोषणा हुने सम्भावना छ । मंसिर ४ गतेको चुनावमा वाग्ले काँग्रेसको घोषणापत्र मस्यौदा समितिमा थिए । त्यतिबेला काँग्रेसको टिकटमा चितवनबाट चुनाव लड्न उनले चाहना राखेका थिए । तर, टिकट पाएनन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि टिकटको अफर गरेको चर्चा थियो ।
तर, त्यसबेला पार्टी नछाडेका उनी यसपटक भने रास्वपाको घण्टीबाट चुनाव लड्न लागेको जानकार स्रोतले बताएको छ ।
टिप्पणीहरू