सहकारी दिवसमा सहकारीको भ्रम चिर्ने

सहकारी दिवसमा सहकारीको भ्रम चिर्ने

राष्ट्रिय सहकारी महासंघले ६६ औँ राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रम गरेर भव्यरुपमा मनाउने भएको छ । ‘सहकारीको दिगोपनः स्वःनियमन र सुशासन’ भन्ने नारासहित आगामी सोमबार महासंघले देशभर सहकारी दिवस मनाउन लागेको छ । 

वि.सं. २०१३ चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापना भएको दिनलाई स्मरण गर्दै नेपालको सहकारी अभियानले उक्त दिन विविध कार्यक्रम आयोजना गरेर सहकारी दिवस मनाउँदै आएको छ । सोही अवसरमा यो वर्ष पनि चैत २० गते विविध कार्यक्रम गरी सहकारी दिवस मनाउन लागिएको हो ।

महासंघकी संयोजक ओमदेवी मल्लले मूल नारालाई सार्थक हुनेगरी सहकारीका समसामयिक मुद्दाहरुलाई समेत उजागर गर्न सहकारी दिवस मनाउन लागिएको बताइन् । 

महासंघले अहिलेको संकटमा समेत सहकारीमा सदस्यको बचतको सुरक्षा र प्रतिबद्धता रहेको सन्देश प्रवाहित गर्न तथा अभियानका तर्फबाट राखिएका मागहरुबारे सम्बन्धित निकायको ध्यानाकर्षण गर्न उपत्यकाभित्रका सम्पूर्ण सहकारीकर्मीहरुको एउटै आवाजसहित सहकारी दिवस मनाउन लागिएको जनाएको छ ।  

उक्त दिन काठमाडौँ उपत्यकामा प्रभातफेरि निकालिने बताइएको छ । झाँकी, ब्यानर र प्लेकार्डसहित सहभागिता जनाउन काठमाडौँ, ललितपुर र भक्तपुरका सम्पूर्ण सहकारी संघसंस्थाहरुलाई महासंघले आह्वान समेत गरेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा भेला भई झाँकी, ब्यानर र प्लेकार्डसहित राजधानीको माइतीघर मण्डलामा र्याली निकालिने बताइन्छ । 

सहकारी दिवसलाई सप्ताहव्यापी रुपमा मनाउन विषयगत केन्द्रीय सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंक, प्रदेश तथा जिल्लास्तरीय सहकारी संघहरु एंव सम्पूर्ण सहकारी संस्थाहरुलाई आग्रह गरिएको हो ।
 

टिप्पणीहरू