सेतीको खोंचमा भएको विमान दुर्घटनाको प्रतिवेदन मागियो, चार जनाको छानबिनमाथि शंका

सेतीको खोंचमा भएको विमान दुर्घटनाको प्रतिवेदन मागियो, चार जनाको  छानबिनमाथि शंका

गत माघ १ गते पोखरामा भएको यति एयरलायन्सको एटीआर ७२ विमान दुर्घटनाबारे छानबिन प्रतिवेदनको पूर्णपाठ माग गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दर्ता भएको छ । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले दुर्घटनाबारे छानबिन समितिले तयार पारेको प्रतिवेदनको पूर्णपाठ मागेका हुन् । 

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम आज निवेदन दर्ता गर्दै उनले दुर्घटनाको अन्तिम समयमा एयर ट्राफिक कन्ट्रोलर, पाइलट र कोपाइलटबीच भएको संवादको अडियो प्रमाणसमेत उपलब्ध गराउन भनेका छन् । 

यस्तै, दुर्घटनाग्रस्त ब्ल्याक बक्समा भेटिएका अडियो प्रमाण र त्यस दिन ब्ल्याक बक्समा संग्रहित रेकर्डलाई पुष्टि गर्ने निकाय तथा संलग्नहरुको आधिकारिता पनि माग गरिएको छ । माघे संक्रान्तिका दिन पोखरामा भएको विमान दुर्घटना आन्तरिकमध्येको हालसम्मकै ठूलो दुर्घटना हो । 

दुर्घटनामा ७२ जनाको मृत्यु भएको थियो । तर, सरकारले त्यसलाई हल्का रुपमा लिएको उनको आरोप छ । नेपालमा निरन्तर हवाई दुर्घटना भइरहने उल्लेख गर्दै उनले दुर्घटनाबारे सुक्ष्म र जिम्मेवार ढंगले छानबिन नहुने गरेको दाबी गरेका छन् । 

‘नेपालमा हरेक वर्ष विमान दुर्घटना हुन्छ, जसले गर्दा विमान चढ्न डर लाग्ने अवस्था बनेको छ । तर, सरकारले यसलाई हलुकामा लिएको छ । छानबिन गरेको भनिएको छ, तर खोइ के छानबिन भयो ? चार जनाको भरमा छानबिन हुन्छ ?’, उनले भने, ‘ ब्ल्याक बक्समा भएको रेकर्ड आमनागरिकलाई पनि सुनाउनुपर्ने हो । तर, त्यसो गरिएको छैन । छानबिन समितिको प्रतिवेदन चित्तबुझ्दो नलागेर मैले निवेदन दिएको हुँ ।’

विमान दुर्घटनाको सत्यतथ्य कारण आमनागरिकलाई पनि जानकारी गराउनुपर्नेमा उनको जोड छ ।

टिप्पणीहरू